लामो प्रयासपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दाङमा नेतृत्वको लागि भागबण्डामा सहमति कायम गरेको छ।
बुधबार घोराहीस्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा बसेको पार्टी एकता कार्यदलको बैठकले ५५/४५को भागबण्डामा सहमति जुटाएको हो।
सहमति अनुसार दाङमा पूर्व एमालेलाई ५५ प्रतिशत र पूर्व माओवादीलाई ४५ प्रतिशत हिस्सा परेको छ।
‘दुई पार्टीको भावनात्मक एकतालाई आत्मसाथ गर्दै ५५/४५ को मापदण्डमा रहेर सहमति कायम गरेका हौं,’–एकजना नेताले भने ‘पालिकाहरूको हकमा भने ६०/४० को भागबण्डा भएको छ ।’
पूर्व एमालेका दाङ जिल्ला अध्यक्ष एवं पार्टी एकता कार्यदलका सदस्य टिकाराम खड्काका अनुसार जिल्लाका दस स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा पूर्व एमालेले नेतृत्व पाउने भएको छ भने ४ वटामा पूर्व माओवादी केन्द्रले नेतृत्व पाउने सहमति भएको छ ।
पूर्व एमालेको भागमा गढवा गाउँपालिका, नमही नगरपालिका, घोराही उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, र दंगिशरण गाउँपालिका परेको छ भने पूर्व माओवादीको भागमा तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिका परेको सदस्य खड्काले सेतोपाटीलाई जानकारी दिए।
खड्का अनुसार पूर्व एमाले संयोजक भएको ठाउँमा पूर्व माओवादी ईञ्चार्ज र पूर्व माओवादी संयोजक भएको ठाउँमा पूर्व एमालेको ईञ्चार्ज रहने व्यवस्था गरिएको छ । दस स्थानीय तहमा दुवै पार्टीले समान ५/ ५ जना ईञ्चार्ज पाउने गरी सहमति भएको छ ।
त्यस्तै जिल्लाका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुइटा क्षेत्रमा नेतृत्व पूर्व एमाले र एउटा क्षेत्रको नेतृत्व पूर्व माओवादी केन्द्रलाई दिने सहमति कायम भएको कार्यदलका सदस्य खड्काले बताए।
यो सहमति अनुसार अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ र १ मा पूर्व एमालेले ईञ्चार्ज पाउने भएको छ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा पूर्व माओवादीले ईञ्चार्ज पाउने भएको छ ।
तर ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा पूर्व एमाले र पूर्व माओवादीले समान ३/३ वटा क्षेत्रमा नेतृत्व पाउने भएका छन्। कार्यदलका सदस्य खड्काका अनुसार प्रदेश निर्वाचन क्षेत्रमा १ को (२), २ को (१) र ३ को (१)मा पूर्व माओवादी केन्द्रले नेतृत्व पाउने भएको छ, भने निर्वाचन क्षेत्र १ को (१) र २ को (२) र ३ को (२)मा पूर्ब एमालेलाई नेतृत्व दिने सहमति कायम भएको छ ।
प्रदेश निर्वाचन क्षेत्रमा जस्तै जिल्लाका दश स्थानीय स्थानीय तह मध्य पूर्व एमाले र पूर्व माओवादीलाई समान ५/५ क्षेत्रको ईञ्चार्ज दिने सहमति कायम भएको एमाले दाङका पूर्व अध्यक्ष खड्काले बताए। त्यस्तै सह-ईञ्चार्ज पनि समान ५/५ जना रहने सहमति कायम भएको छ।
दाङमा कुन ठाउँमा कसको नेतृत्व रहने भन्ने कुराको टुङ्गो लागेको भए पनि व्यक्तिको बारेमा टुंगो लागि नसकेको खड्काले जानकारी दिए । ‘हामी बीचमा समान ५०/५० ईञ्चार्जको सहमति भएको छ, तर को–कोलाई ईञ्चार्ज बनाउने भन्ने टुंगो लगाउन बाँकी नै छ,’ कार्यदलका सदस्य खड्काले भने ‘बैठक जारी नै छ, केही व्यवहारिक कुरा मिलाउन अझै २/३ दिन लाग्न सक्छ ।’
दाङमा अध्यक्षको टुंगो लाग्न बाँकी
दाङमा अध्यक्ष र सचिवको टुंगो लगाउन भने अझै नेकपा सचिवालय बैठकले सकिरहेको छैन । दाङमा अध्यक्ष पूर्व एमालेको भागमा परेको छ भने सचिव माओवादीले पाउने सहमति भएको बताइन्छ । दाङबाट प्रदेश नं. ५ का मुख्य मन्त्री एवं नेकपाका प्रदेश ईञ्चार्ज शंकर पोखरेलका बहिनी ज्वाईं शिवकुमार आचार्यको मात्रै नाम अध्यक्षको लागि केन्द्रमा सिफारिस गरेकोमा त्यसको व्यापक विरोध भएको थियो।
वरिष्ठ नेता माधवकुमार नेपालले त्यसको विरोधमा नेकपाको सचिवालय बैठकमा फरक मत पेश गरेका थिए। त्यसपछि पछिल्लो समय फेरि पूर्व एमालेका अध्यक्ष टिकाराम खड्काको नाम पनि केन्द्रमा अध्यक्षको लागि सिफारिस गरेर पठाइएको छ।
‘हामीले जिल्लाको नेतृत्वबारे बुधबार नै लगभग सबै सहमति कायम गरि सकेका छौं,’ खड्काले भने ‘ तर, अझै केन्द्रले अध्यक्षको टुंगो लगाएको छैन।’
उनले केन्द्रले जिल्ला नेतृत्वको बारेमा अन्तिम टुंगो लगाएपछि मात्रै जिल्लामा नेतृत्वबारे भएको भागबण्डा आधिकारिक रूपमा सार्वजनिक गरिने बताए ।
नेकपाको विधानमा जिल्ला कमिटीको संख्या १ सय ५५ जनाको रहने व्यवस्था छ भने उपमहानगरपालिकाको कमिटी १ सय १ नगर कमिटी ८१ र गाउँपालिका कमिटी ७५ सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै उपमहानगरपलिका वडा कमिटीमा ३५ जना, नगर/गाउँ वडा कमिटीमा २९ र नगरगाउँका टोलमा १९ जना रहने व्यवस्था रहेको छ ।