नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले गृहजिल्ला दाङमा राष्ट्रिय स्वाधिनताको प्रश्नमा सरकार गम्भीर नदेखिएको भन्दै आपत्ति जनाएका छन्।
दाङको तुलसीपुरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले रिपुलेख र भारतसँगको सीमानाको सवालमा सरकारले कुनै नबोलेको भन्दै रोष प्रकट गरेका हुन्।
उनले भारतीय पक्षले सीमा नाकाको बारेमा छुट्टै नक्सा बनाएको र त्यसमा ५३ किलोमिटर जति नेपाली भूभाग भारततर्फ गाँभेर बनाएको भए पनि सरकार के हेरेर बसेको छ भन्ने प्रश्न गरे।
त्यस्तै, उनले १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर नेपालको भू-भागमध्ये पछिल्लो समय १० हजार वर्ग मिटर घटेको दाबी गरे।
भारतसँग सीमाना जोडिएको क्षेत्रमा भारत पक्षले दिनहुँ सीमाना मिच्दै आएको तथा केही सीमास्तम्भहरू समेत गायव पार्दा समेत सरकार मुकदर्शक बन्नुले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद उदांगो भएको वैद्यको आरोप छ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू पक्राउ नपर्नु, अत्यधिक कर बढाउनु, महँगी उत्कर्षमा पुगाउनुले सरकारले जनअधिकारको अपहरण गरेको वैद्यले तर्क गरे। भ्रष्टाचार उत्कर्षमा रहेको दाबी गरेका उनले देशका एक तिहाइ युवा विदेश जान बाध्य पारिएको, लोडसेडिङ घटाउने बहानामा यहाँका प्रशस्तै खोलानालाबाट विद्युत उत्पादन नगरी भारतबाट विद्युत खरिद गरेर उसैलाई पोस्ने काम भएको महासचिव वैद्यले दाबी गरे।
‘अझ केपी सरकारले हाम्राविरूद्ध दुष्प्रचारबाजी गरिरहेको छ,’ वैद्यले भने ‘ प्रतिकृयावादी आउँदैछ भन्छ अब यो भन्दा के आउने ठाउँ छ र ?’
उनले सरकार ओली नेतृत्वको सरकार मान्न तयार नरहेको बताउँदै त्यसविरूद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए।
त्यस्तै, उनले ओली नेतृत्वको सरकार र यो गठबन्धन समेत धेरै नटिक्ने भविष्यवाणी गरेका थिए।
‘हाम्रो पहिलेको आन्दोलनले धक्का खायो अब नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ,’ वैद्यले भने।
त्यस्तै, उनले केपी र प्रचण्डले भन्ने गरेको समाजवाद नक्कली भएको भन्दै त्यो नटिक्ने दाबी गरे।
जनताले कम्युनिस्ट भनेर भोट दिएको भए पनि सरकारको रवैया देखेर भोट हालेका इमान्दार कम्युनिस्ट कार्यकर्ता आज पछुतो मानिरहेको वैद्यले दाबी गरे।
‘एकता सच्चा कम्युनिस्टहरूलाई गोलबन्द गरेर मात्रै संभव छ,’ वैद्यले भने ‘यो एकता सत्तामा पुग्ने स्वार्थको लागि भएको छ र सैद्धान्तिक गठबन्धन नभएको एकता टिक्ने कुरै आउँदैन।’
आफ्नो पार्टी अहिले कमजोर अवस्थामा रहेको स्वीकार गरेका उनले जति कमजोर भए पनि क्रान्तिको झन्डा उठाइराख्ने र विचार मर्न नदिने दृढता व्यक्त गरेका थिए ।