नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताएका हुन्।
उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए।
आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजीवी र नागरिक समाजले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भने, ‘अस्तिको दिन वितरण गरिएकोजस्तो पदक हामीले वितरण गरिएको भए बाबा। अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ ती पनि चुपचाप, कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने। कतैबाट आवाज नआओस्। कतैबाट विरोधको स्वर नआओस्। कतैबाट उज्यालो नछिरोस्। सबैतिर अन्धकारमा चलाउने। विरोधी नै रहेनन्। हामीलाई कुनै टाउको दुखेको होइन। यति धेरै पदकहरू त कहिले पनि बाँडिएको थिएन होला। रत्नपार्कमा बसेर वितरण गरिएकोजस्तै छ क्या ह्वारह्वार। म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो। के हुन्थ्यो ? बुद्धिजीवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? चुपचाप । आज रमाइलो छ सबै चुपचाप छन्। सञ्चो छ। शान्त छ।’
अध्यक्ष ओलीले वर्तमान सत्तारूढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको टिप्पणी गरे।
सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ।
उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध समेत गरे। सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ।
उनले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ। जानिजानिकन ताकी पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक बोल्ने कोेही नराखेजस्तै। यहाँ सबलाई निराशा बनाइदिने, युवाहरूलाई निराशा बनाइदिने, केही पनि हुँदैन भन्ने पारिदिने। दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन्। अहिले ग्रहण लागेको छ। यो ग्रहणतिर हेर्ने काम छैन। यो ग्रहण लागेको छ। अशुभ छ। २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन। गाह्रो त्यही हो। ७०, ७२ दिन किन पूर्णता पाउँदैन सरकारले ? कार्यकाल छ सवा वर्ष। सवा वर्षको २० प्रतिशत भाग गयो। खाली चिन्ता हो देशको बहुमूल्य समय बर्बाद भो। चिन्ता हो। दुरूपयोग भो चिन्ता हो। पदक यदि बोल्न जान्दथ्यो भने त्यसका आँखा हुन्थे र आँसु हुन्थे भने बरबर रुन्थ्यो त्यो। धरधर रुन्थ्यो पदक। बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर। जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गर्थ्यो।’
कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे। उनले भण्डारीले नेपाली राजनीतिमा पुर्याएको योगदानको चर्चा समेत गरेका थिए।