प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
देउवाले बुधबार वा बिहीबार परराष्ट्रमन्त्री नियुक्त गर्नेछन्।
परराष्ट्रमन्त्री नियुक्त गर्नेबारे मंगलबार सत्तारुढ गठबन्धनमा छलफल भएको थियो। बालुवाटारमा भएको सत्तारूढ गठबन्धनको छलफलमा परराष्ट्रमन्त्री नेपाली कांग्रेसले राख्ने सहमति भएको छ।
तर कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन।
कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री कसलाई बनाउने छलफल गर्न बुधबार अपरान्ह ३ बजे पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
स्रोतका अनुसार नारायण खड्का र सुजाता कोइरालामध्ये एकपरराष्ट्र मन्त्री बन्ने सम्भावना छ। खड्का कांग्रेसमा परराष्ट्र विभाग हेर्छन्। खड्का देउवानिकट हुन् भने कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
मन्त्री बनाउँदा सभापतिले पार्टीमा छलफल गर्नुपर्ने पौडेल पक्षले बताउँदै आएको छ।
यसअगाडि देउवाले आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका थिए।
प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार पदाधिकारी बैठकपछि बुधबार वा ढिलोमा बिहीबारभित्र परराष्ट्रमन्त्री नियुक्त गरिनेछ।
अन्य मन्त्रीबारे भने बैठकले केही निर्णय गरेको छैन। बुधबार पनि गठबन्धन बैठक बस्ने सम्भावना छ।
अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुपर्ने भएकोले अहिले परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति गठबन्धनमा भएको हो।
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का थिए।
देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए।
प्रधानमन्त्री बनेको ७० दिनसम्म पनि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिएका छैनन्। राजनीतिक दल सम्बन्धी अध्यादेश निष्कृय भएपछि मात्रै मन्त्रिमन्डल विस्तार गर्न देउवामाथि गठबन्धन भित्रबाटै दवाव छ।