नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० मा भएको स्थानीय तह चुनावमा गोरखामा ११ मध्ये ९ पालिका माओवादीले जितेर राम्रो उदाहरण पेश गरेको बताएका छन्।
सत्ता गठबन्धनबीच गोरखामा चुनावी गठबन्धन गर्न खोज्दा माओवादीलाई सम्मानजनक सिट नदिइएको र एक्लै उठ्न आफूले दिएको निर्देशनअनुसार पार्टीका उम्मेदवारहरू जितेको प्रचण्डको भनाइ थियो।
आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ०७४ मा हारेका पालिकामा यसपालि माओवादीले जितेको पनि बताएका थिए।
‘यो पटक गोरखाले नयाँ उदाहरण प्रस्तुत गर्यो। त्यहाँ गठबन्धन गर्न निकै कसरत भयो। तर गठबन्धन गर्दा हामी माओवादीलाई अलि बढी नै अबमूल्ययन गर्ने र धेरै नै अपमानित गर्ने देखेपछि मैले त्यहाँका कमरेडहरूलाई भने- अलि दह्रो आत्मविश्वासका साथ एक्लै चुनाव लड्न जानुभयो भने बढी जितिन्छ। अन्तत: ११ मा ९ स्थानीय तह माओवादीले जित्यो,’ उनले भने।
साथै उनले गोरखामा जिसस पनि माओवादीले एकलौटी जितेको बताएका थिए। ‘पहिले क्षति भएको पालिका अहिले करिबकरिब पूर्ति हुने गरी एकलौटीजस्तै बनाउनुभयो,’ उनले भने, ‘११ मा ९ पालिका जित्ने, जिसस र सबै कार्यपालिका माओवादीले बनाउने भन्ने कुरा राम्रो उदाहरण गोरखामा प्रस्तुत भयो।’
गोरखामा माओवादीले जितेका ९ पालिकामध्ये गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा जसपासँग गठबन्धन गरेको थियो। तर यी ठाउँमा गरिएका गठबन्धनबारे भने आज प्रचण्डले उल्लेख नै गरेनन्।