सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।
नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए।
अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे।
उनले भने,‘पहिलोचोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बिति गो। एउटा नयाँ परिस्थिति बन्यो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ। मलाई त्यसमा गर्व छ। देशका राष्ट्रिय एकता नै के हुने हो भन्ने बेलामा मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा थिएन।’
उनले अगाडि भने, ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन। सबै जातजाति, क्षेत्र, भाषा, समुदायको एकतालाई सुदृढ गर्दै लोकतन्त्रको सुदृढीकरणको प्रक्रियामा अघि बढ्ने कुरा पनि अब बाँकी जीवन देशको आर्थिक विकास र समृद्धिको निम्ति सबै क्षेत्रको समृद्धिको यात्रा सुरू गर्ने मनसायको साथ राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बोकेर अवको जीवन बिताउने मैले भनेको थिएँ। जुन प्रयोग निकै ठूलो साहसका साथ गरिएको थियो। त्यो सफल भएन।’
अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्यम भएको बताए। उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
‘वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो। त्यो सफल भएन। त्यसबारे मैले अहिले लामो भन्नु केही छैन। तर तपाईंहरूले भन्नुभयो, तपाईंहरूले भनेको कुरा तपाईंहरूको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रूपमा देशमा देखापरेका यी तमाम विकृतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ’, उनले भने, ‘किनकि मेरै नेतृत्वमा हजारौं नेपालीहरूको बलिदान भएको छ। यो परिवर्तन ल्याउनका निम्ति। यहाँ त्यो कुरा पनि आयो। म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु।’