संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीमा राजीनामा बुझाएका छन्।
नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्री आलेले आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाएको बताए।
मन्त्रीले राजीनामा बुझाउनु पर्ने प्रधानमन्त्रीलाई हो। तर नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाउन लागेको छ।
गत जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन।
मन्त्री आलेले संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै आफूले मन्त्री पदमा नरहने जानकारी पार्टीलाई गराइसकेको बताए। उनले आजै अपरान्ह ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका छन्।
उनले शुक्रबार पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घन्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका थिए।
उनले राष्ट्रिय सभामा जवाफ दिएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘मन्त्रालयका तर्फबाट राष्ट्रिय सभामा जवाफ दिएँ। मेरो दायित्व पूरा भयो। राजीनामा पत्र पार्टीलाई दिइसकेको छु। पार्टीले नै सांसद र मन्त्री बनाउने र फिर्ता पनि बोलाउन सक्ने भएकोले पार्टी निर्णय स्वीकार्य छ।’
उनले आफूले राम्रो काम गरेको पनि बताए। पार्टीलाई पठाएको राजीनामा पत्र त्यहाँबाट प्रधानमन्त्री कार्यालयमा जाने पनि उनले बताएका छन्।