नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश संकटमा फस्दै गएको बताएका छन्।
बुधबार तुलसीपुरस्थित पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको भए पनि अहिलेको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको बताएका हुन्।
‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०/८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं,’ पोखरेलले भने, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ।’
एक वर्षको अवधिमा पाँच महिना बराबरको सामर्थ्य देशले गुमाउनुले गठबन्धन सरकार असक्षम भइसकेको पुष्टि भएको उनले तर्क गरे।
देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गरे।
अवाञ्छित व्यक्तिहरू, व्यापारीका एजेन्टहरू राखेर करका दरहरू हेरफेर गरिएको भन्दै एमाले महासचिव पोखरेलले सर्वाधिक अनुचित र गैरजिम्मेवार काम सरकारले गरेको बताए।
‘अपराध गर्नेहरूलाई बहुमतको आडमा उन्मुक्ति दिने काम भएको छ,’ पोखरेलले भने, ‘प्रचण्ड र देउवाको नजरमा जनार्दनजी चोखिएलान् तर जनताको नजरमा उनले गम्भीर अपराध गरेका छन्।’
महासचिव पोखरेलले स्थानीय तहको निर्वाचनबाट एमालेले असाधारण रूपमा आफ्नो सामर्थ्य वृद्धि गरेको चर्चा गरे।
‘माधव नेपाल, झलनाथ, वामदेवजस्ता व्यक्तिहरूले पार्टी छोड्दाखेरि पनि पार्टीको जनमत घटेको होइन बढेको छ,’ उनले भने, ‘पहिले ३३ प्रतिशत मत थियो र अहिले एमालेले ३४ प्रतिशत मत प्राप्त गरी सबभन्दा लोकप्रिय मत प्राप्त गरेको छ।’
त्यस्तै, उनले सरकारले मंसिरमा गर्नुपर्ने निर्वाचनको मिति घोषणा गर्नसमेत आनाकानी गरिरहेको भन्दै गठबन्धन दलको लोकतन्त्रप्रतिको विश्वास खस्किँदै गएको दाबी गरे।