उपराष्ट्रपति हुँदा होस् वा राष्ट्रपति बनेपछि जो बाइडेनले चीनलाई भन्दै आएका थिए- एक अपेक्षित द्वन्द्वभन्दा अनपेक्षित द्वन्द्व खराब हुन्छ।
बाइडेनले औंल्याएको खतराले अहिले आकार लिन खोजेको देखिन्छ। अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै चीन अमेरिकासँग रूष्ट छ। पेलोसीलाई ताइवान पठाउनुलाई चिनिँयाहरूले बाइडेन प्रशासनको खराब कदम भनेका छन्। ताइवानले अब ठूलो संकटको सामना गर्नुपर्ने कतिपयको बुझाइ छ।
अगस्ट २ मा ताइवान पुगेको पेलोसी सवार जहाज साउथ चाइना सीलाई छल्नका निम्ति मलेसियाबाट फिलिपिन्स हुँदै पुगेको थियो। पेलोसी आउने तयारी हुँदै गर्दा बेइजिङले साउथ चाइना सी वरपर सैन्य गतिविधि बढाएको थियो।
बिहीबारदेखि चीनले ताइवान लक्षित सैन्य अभ्यास सुरू गरेको। यो चार दिनसम्म चल्ने बताइएको छ। सैन्य अभ्यासलाई मध्यनजर गर्दै चीनले ताइवान वरपरका हवाई तथा सामुन्द्रिक इलाकाका ६ क्षेत्रमा दूरी कायम गर्न सूचित गरेको छ। ताइवान लक्षित फायर ड्रिल ब्यालेस्टिक मिसाइल प्रहारअघिको पूर्वाभ्यास रहेको आशंकामा कतिपय वायुसेवा प्रदायक कम्पनीले उडाननै स्थगित गरेका छन्।
ताइवान र चीनबीच जल र आकाशमा सीमा निर्धारण गर्न बनाइएको मध्यरेखालाई पार गर्दै चीनले दबाब बढाइरहेको छ। चीनले ताइवानको दक्षिणी क्षेत्रभित्र पर्ने हवाई-प्रतिरक्षा बलको समेत निरीक्षण गरेको छ। ताइवानमाथि आफ्नो दाबीलाई झनै बलियो बनाउन चीनले सैन्य गतिविधि बढाएको कतिपयको आशंका छ। हालसालै मात्रै ताइवान स्ट्रेटलाई अन्तर्राष्ट्रिय जलमार्ग मान्न नसकिने घोषणा चीनले गरेको थियो। त्यसबाहेक चीनले ताइवानबाट कृषिजन्य सामाग्री आयात रोकेको छ। चीनका विदेश मन्त्री वाङ् यीले राष्ट्रपति सी चिनफिङले भन्ने गरेको चेतावनी दोहोर्याएका छन्: आगोसँग खेल्नेहरू खरानी हुने छन् र चीनको अपमान गर्नेले निश्चय नै सजाय पाउने छन्।’
चीनको कडा चेतावनीका बाबजुद् ताइवानकी राष्ट्रपति चाइ इङ वेनले पेलोसीको न्यानो स्वागत गरिन्। स्वागत मन्तव्यमा उनले भनेकी छिन्, ‘ताइवानलाई डराउन नियोजित रूपमा बढाइएका सैन्य गतिविधिले हामी विचलित भएका छैनौं। राष्ट्रको सार्वभौमिकता र प्रजातन्त्रको रक्षाका निम्ति हामी दृढतापूर्वक उभिनेछौं।’
चीनका उग्र राष्ट्रवादीहरूले पेलोसी सवार जहाजलाई खसाल्नु पर्ने बताइरहेका थिए। तर चीन तत्कालै अमेरिकासँग सैन्य भिडन्तलाई सकभर टार्ने प्रयत्नमै छ। त्यसैले ताइवानको पूर्वी क्षेत्रमा रहेका अमेरिकी पानीजहाजलाई चीनले कुनै पनि चेतावनी दिएको छैन। आफ्नो भ्रमण सकेर पेलोसी बुधबार नै ताइवानबाट दक्षिण कोरिया उडेकी छिन्।
उनको यो उडान समस्याको समाधान नभएर नयाँ उल्झनको थालनी रहेको चिनियाँ विश्लेषण छ। ‘चीनको प्रतिवाद दीर्घकालीन र स्थिर समाधानको निम्ति हुनेछ। क्षणिक समाधानका निम्ति कुनै कार्य हुनेछैन,’ चिनियाँ सरकारको अंग्रेजी भाषाको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित टिप्पणीमा भनिएको छ।
ताइवानसँगको तनाव बढ्दो विन्दुमा रहेकाले चीनले उसमाथि दबाब बढाउन नछोड्ने चीन मामिला जानकारहरू बताउँछन्।
बाइडेनको बाध्यता
चीनसँगको बिग्रदो सम्बन्धले बाइडेन प्रशासनलाई समस्यामा पारेको देखिन्छ। चीनबारे ह्वाइहाउसका प्रवक्ता जोन किर्बी भन्छन्, ‘आगामी कदम चाल्नका निम्ति चीन तम्तयार छ र उसले दीर्घकालसम्म आफ्नो कदम अघि बढाउने छ।’
पेलोसीको भ्रमणले एक चीन नीतिलाई कुनै असर नपुर्याएको प्रवक्ता किर्बीको जिकिर छ। चीनको गतिविधिबाट अमेरिका नतर्सिने उनले बताएका छन्। ‘हामी कुनै सैन्य प्रदर्शनी गर्दैनौं र हामी डराउनेवाला पनि छैनौं,’ उनले भनेका छन्।
पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर बाइडेन प्रशासनभित्र असहजताको स्थिति पनि आएको थियो। बाइडेन प्रशासनले उनलाई नजान आग्रह गरिरहेको थियो। डेमोक्र्याटहरूले पेलोसीलाई रोक्न खोजिरहेका थिए। तर रिपब्लिकन सिनेटरहरूले भ्रमणका निम्ति पेलोसीलाई उक्साए।
‘सभामुख पेलोसीको भ्रमणबारे म चार शब्द व्यक्त गर्दछु जुन कुरा मैले अहिलेसम्म यसअघि भनेको थिइँन, रिपब्लिकन सिनेटर रोय ब्लन्टले भने, ‘ती चार शब्द हुन्- सभामुख पेलोसी सही छन्।’
आफ्नो भ्रमणका कारण उब्जिएको तनावले पेलोसी पछुतो भयो वा भएन उनले केही दर्शाएकी छैनन्। ताइवानकी राष्ट्रपतिसँग पेलोसीले ताइवानको प्रजातन्त्र रक्षाका निम्ति अमेरिकी ऐक्यवद्धता रहने बताइन्।
‘संसार नै निरंकुशता वा प्रजातन्त्रको छनौटको सामना गरिररहेको छ। ताइवानमा र संसारभर प्रजातन्त्रको रक्षाका निम्ति अमेरिका कवजको रूपमा उभिनेछ,’ उनले भनेकी छन्।
पेलोसीले ताइवानसँग सम्भावित आर्थिक कारोबारको विषयमा पनि छलफल गरेकी छिन्। ताइवानकी राष्ट्रपतिले पेलोसीलाई विशेष सम्मान अपर्ण गरिन्। ताइपेको १ सय १ तल्लाको भवनमा प्रकाशको माध्यमबाट धन्यवाद अमेरिका, प्रजातन्त्र र ताइवानको साथी अमेरिका सहितका शब्द लेखिएका थिए।
आलोचकहरूले पेलोसीलाई आगो झोसिदिने व्यक्तिका रूपमा पनि व्याख्या गरे। ताइवानको प्रजातन्त्रको रक्षाका निम्ति पेलोसीले जे-जे ऐक्यवद्धता व्यक्त गरे पनि उनको यात्रापछि ताइवानको भविष्य झनै अनिश्चित देखिन्छ। २ करोड ४० लाख जनसंख्या भएको ताइवान प्रजातान्त्रिक हो। कम्युनिस्ट शासन रहेको चीनले ताइवानमाथि दाबी गरिरहेको छ। ताइवानलाई साना केही देशले मात्रै राष्ट्रको रूपमा चिन्छन्। ताइवानबारे चीनका राष्ट्रपति सीले भनेका छन्, ‘विशाल चीनको लक्ष्य प्राप्ति सकभर शान्तिपूर्ण रूपमै हुनेछ। आवश्यक परे बलसमेत प्रयोग हुनेछ।’
अमेरिका शाब्दिक रूपमा एक चीन नीति मानेको बताउँछ। तर व्यवहार भने फरक छ। ताइवानसँग अमेरिकाले औपचारिक कूटनीतिक सम्बन्ध छैन।शान्तिपूर्ण रूपमा मात्रै ताइवान समस्या समाधान हुने जिकिर अमेरिकाले गर्दै आएको छ।
ताइवानको रक्षा कानुनले आफ्नो भूमिको रक्षाको निम्ति उसले सैन्य सहायता लिन सक्ने व्यवस्था गरेको छ। चीन र ताइवानबीच लडाइँ भए अमेरिकाले ताइवानलाई सहयोग गर्छ वा गर्दैन कुनै निश्चित छैन। ताइवान मामिलामा अमेरिका घोषित रूपमै रणनीतिक द्विविधामा रहेको देखिन्छ।
पेलोसी भ्रमणको उद्देश्य
पेलोसीको भ्रमण व्यक्तिगत र राजनीतिक देखिन्छ। उनी पहिलेदेखि नै चीनकी कठोर आलोचक हुन्। सन् १९८९ मा बेइजिङको तियानमेन स्क्वायरमा प्रजातन्त्र माग गर्दै विद्यार्थीले प्रदर्शन गरे। सरकारले उनीहरूमाथि दमन गर्यो। धेरै प्रदर्शनकारी मारिए। सन् १९९१ मा तियानमेन स्क्वायर पुगेर पेलोसीले मृतकहरूको स्मृतिमा ब्यानर प्रदर्शन गरेकी थिइन्।
पेलोसीको ताइवान भ्रमणको खबर सार्वजनिक भएपछि बाइडेनले सेना प्रमुखसँग छलफल गर्दै भ्रमण राम्रो उपाय नरहेको बताएका थिए। बेइजिङले पेलोसी ताइवान आउने कुराको चर्को विरोध जनाएपछि वासिङ्टन फसेको थियो। भ्रमण रोकौं अन्तर्राष्ट्रिय रूपमा बेइजिङले अमेरिकाविरूद्ध गरेको ‘बुली’ लाई बल पुग्ने थियो। घरेलु रूपमा व्यवस्थापिका प्रमुखमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप लाग्न सक्थ्यो। त्यसैले चाहँदा-चाहँदै पनि बाइडेनले भ्रमण रोक्न बल गरेनन्।
वासिङ्टनका थिंकट्यांक बोनी ग्ल्यासर भन्छन्, ‘तेस्रो कार्यकालमा पनि आउन चाहेका सीलाई चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति दृढ संकल्प देखाउनु पर्ने स्थिति छ। यस्तो अवस्थामा उनी अमेरिकासँग नरम देखिने कुरै भएन। पेलोसीको भ्रमणको समय उचित भएन।’
अमेरिका एक चीन नीतिविपरीत अघि बढिरहेको चीनको आरोप छ। बाइडेनले पटक-पटक ताइवानको रक्षाका निम्ति अमेरिका उभिने बताए पछि चीन अझै सशंकित छ। पूर्वविदेश मन्त्री तथा पूर्वरक्षा मन्त्रीहरूले बाइडेनलाई एक चीन नीतिमा उभिने वा नउभिनेमा विषयमा प्रष्ट निर्णय गर्दै रणनीतिक द्विविधा त्याग्नुपर्ने सुझाव दिँदै आएका छन्।
बाइडेन र सीबीच भिडिओ कन्फ्रेसमार्फत् विभिन्न चरणमा भेट भएका छन्। यी भेटमा बाइडेनले दुई मुलुकको प्रतिस्पर्धालाई शीतयुद्धकालीन शैलीमा झैं अघि बढाउन जोड दिइरहेका छन्। यसरी अघि बढ्दा दुई मुलुकबीच शैन्य द्वन्द्व टार्न सकिने अमेरिकी बुझाइ छ।
‘पेलोसीको भ्रमणले २५ वर्ष अघिदेखिका मान्यता तोडिएको छ। यता बेइजिङले पनि अप्रत्यासित रूपमा सैन्य अभ्यास जारी राखेको छ। दुबै पक्षबाट यथास्थितिको उल्लंघन हुनु हितकर छैन,’ बेइजिङका थिंकट्यांक वाङ हु भन्छन्।
चीनले ताइवानमाथि नाकाबन्दी गरे के कदम चाल्ने भन्ने कुरा बाइडेनले निर्णय गर्नैपर्ने हुन्छ। सन् ११९६ मा बिल क्लिन्टनले ताइवानलाई युद्ध जहाज पठाएका थिए।
‘पेलोसीको भ्रमणलाई ताइवान माथिको आक्रमणको बहाना बनाउनु हुँदैन। जारी द्वन्द्वलाई आक्रामक बन्न नदिन सबै पक्षबीच संवादका साथै संयमता पनि आवश्यक छ,’ वाङ भन्छन्।
सीको पालामा चीन झन् धनी र शक्तिशाली हुँदै आएको छ। यो पहिचानलाई कायमै राख्न चीन आक्रामक हुन पनि सक्छ।
सेन्टर फर इन्टरनेसलन एण्ड स्ट्राटेजिक स्डडिजका थिंकट्यांक जुड बल्सेट्स भन्छन्, ‘यथास्थितिको पहिचान जोगाइराख्नु पर्ने चुनौती ताइवानलाई छ भने ताइवानलाई यथास्थितिमा राख्दा थप समस्या पर्ने चीनको बुझाइ छ। यस्तो अवस्थामा पेलोसीले चीन र ताइवानबारे कायम रहेको कूटनीतिक अस्पष्टतालाई स्पष्ट पार्नुपर्थ्यो। तर उनको भ्रमणले थप जोखिम बढाएको छ।’
(द इकोनोमिस्टमा प्रकाशित सामग्रीको भावानुवाद।)