मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट टिकट वितरण गर्दा न्यायोचित ढंगले गर्न नेपाली कांग्रेसमा माग भएको छ।
महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई भोट नदिएको बाहनामा टिकट वितरणमा विभेद हुन सक्ने भन्दै नेता शेखर कोइराला पक्षका नेताहरू न्यायोचित टिकट वितरण गरिनुपर्ने पक्षमा छन्।
कोइराला पक्षका नेताहरूले आज महामन्त्री गगन थापासँग टिकट वितरण गर्दा विभेद हुन नदिन चनाखो हुन आग्रह गरेका थिए। थापा सिट बाँडफाँट कार्यदलका सदस्य पनि छन्। थापा कोइराला समूहबाट महामन्त्री जितेका थिए।
आज बोलेका अधिकांश नेता/कार्यकर्ताले टिकट वितरणमा विभेद नगर्न आग्रह गरेको कांग्रेस कर्णालीका नेता भूपेन्द्रजंग शाहीले सेतोपाटीलाई बताए।
‘कसैलाई भोट नदिएको बाहनामा टिकट वितरणमा विभेद गर्न हुँदैन भन्ने सबैको सुझाव थियो,’ शाहीले भने, ‘महामन्त्रीले पनि विभेद हुँदैन भन्नुभएको छ।’
कहाँ कुन दलबाट उम्मेदवार उठ्ने भन्ने छलफल हुनै बाँकी रहेकोले आफ्नो क्षेत्रमा चुनावी अभियानमा जुटिरहन महामन्त्री थापाले आग्रह गरेका थिए।
यसैबीच नेता कोइराला पक्षका नेताहरूले कर्णाली भेला गर्दैछन्। कर्णालीमा पार्टीको राम्रो उपस्थिति रहेकोले यसपालि धेरै ठाउँमा उम्मेदवारी दिन र टिकट वितरणलाई न्यायोचित बनाउन दबाब दिन सुर्खेतमा भेला गर्ने तयारीमा कोइराला पक्षका नेताहरू छन्।