सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण सकेर स्वदेश आइपुगेका छन्।
गत शुक्रबार राति जापान गएका प्रचण्ड बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुद् बनाउन सहयोगी हुने बताए।
राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयकबारे सोधिएको प्रश्नमा प्रचण्डले राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई लागेको बताए।
‘मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ उनले भने।
दुबै संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ।
फरक प्रसंगमा उनले पार्टीका पदाधिकारी छिट्टै टुंग्याउने बताए।
‘पदाधिकारीको नाम मेरो कोटको खल्तीमा छ भनेर अलि बढ्तै भन्नुहुन्छ मिडियाका साथीहरूले। त्यस्तो पनि होइन, हामी चाँडै टुंग्याउँछौं,’ प्रचण्डले भने।
निकट भविष्यमै उनले चीन भ्रमण गर्न लागेकोबारे सोधिएको प्रश्नमा प्रचण्डले कुरा भएको भए पनि निश्चित भइनसकेको बताए।
यो पनि:
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा उपराष्ट्रपतिको आशंका