कैलालीमा सत्तारूढ गठबन्धनका तर्फबाट पाँचमध्ये नेपाली कांग्रेसले तीन र माओवादी केन्द्रले दुई निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।
अहिलेको परिस्थितिमा फेरबदल नभए कैलाली–१, ४ र ५ मा कांग्रेसका उम्मेदवारलाई गठबन्धनले समर्थन गर्नेछ।
यस्तै क्षेत्र नम्बर २ र ३ भने माओवादी केन्द्रबाट उम्मेदवार उठाउने गठबन्धनको तयारी छ। यसअघि कैलाली–५ मा प्रधानमन्त्री पत्नी तथा केन्द्रीय सदस्य आरजु राणालाई उठाउने निर्णयबाट कांग्रेस पछि हटेपछि नयाँ परिस्थिति बनेको हो।
कांग्रेस कैलालीले क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ राणाको एकल नाम सिफारिस गरेको थियो।
तर उनले समानुपातिक रोजेपछि हाल प्रदेशसभा सदस्य समेत रहेका डिल्लीराज पन्तलाई टिकट दिने कुरामा सहमती भएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए।
पन्तलाई कांग्रेस कैलालीले पुन: प्रदेशसभा सदस्यका लागि प्रत्यक्षमा नै सिफारिस गरेको थियो।
तर उनलाई शीर्ष नेतृत्वले क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने पक्का गरेको जनाइएको छ। क्षेत्र नम्बर ५ प्रदेश सभा (क) मा माओवादी र (ख) मा कांग्रेसका उम्मेदवारलाई गठबन्धनले समर्थन गर्ने तय भएको छ।
२०७० सालमा कैलालीको साविकको क्षेत्र ६ (हाल ५) बाट कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा कांग्रेसबाट चुनाव लडेकी नेतृ आरजू राणा देउवा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्।
यस्तै डोटीमा प्रेम आलेले नछोड्ने भएपछि कांग्रेस ब्याक हुने देखिएको छ। त्यहाँ कांग्रेसका तर्फबाट दावी गरिरहेका प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर कैलाली–४ बाट उम्मेदवार बन्ने तय भएको छ।
क्षेत्र नम्बर ४ प्रदेश सभा (क) मा एकीकृत समाजवादीका दिर्घ सोडारी र (ख) मा कांग्रेसका प्रकाश बमलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनाउने कुरा अघि बढेको छ।
यहाँ माओवादीका तर्फबाट हाल सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि उम्मेदवारका लागि आंकाक्षी देखिएका छन्।
यद्यपी उनलाई उम्मेदवार बनाउने कुरा चर्चामा छैन। कैलालीको क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी उम्मेदवार बन्ने लगभग पक्का भएको सुनारले बताए। यस क्षेत्रमा प्रदेश सभातर्फ (क) माओवादी केन्द्र र (ख) कांग्रेसको भागमा परेका छन्।
कैलाली–३ मा माओवादी केन्द्रबाट गठबन्धनले उम्मेदवार बनाउने तय भएको छ। कैलाली–३ प्रदेश (क) मा कांग्रेस र (ख) मा समाजवादीका उम्मेदवारलाई गठबन्धनले समर्थन गर्ने भएको छ।
कैलाली-२ मा पनि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले गठबन्धनका तर्फबाट उम्मेदवार उठाउने छ। प्रदेशसभातर्फ कांग्रेसकै दुबै उम्मेदवार उठाउने तयारी भएको छ। असोज २२ सम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने सुनारले बताए।