नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।
हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटघाट भएको हो। निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए।
बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो।
भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका विषयमा पनि कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।
निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए।
भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए।
सप्तरी क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।
प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।