सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई नेकपा (एमाले) ले पनि समर्थन गरेको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दीर्घ सोडारीलाई समर्थन गरेको पत्र पठाएको सेतोपाटीलाई बताए।
सुरूमा सोडारीबाहेक एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाए सघाउने एमालेको अडान थियो।
तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धनकै कसरत गरेपछि एमाले पनि समर्थन गर्न बाध्य भएको हो।
संविधानको धारा १६८ (२) अनुसार सोडारीले अपराह्न ४ः३० बजे मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने एकीकृत समाजवादीका सांसद नरेश शाहीले जानकारी दिए।
सोडारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले समर्थन गरेका छन्। त्यस्तै स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन्।
यसअघि आइतबार नागरिक उन्मुक्ति पार्टीका दुईजना सांसदको मुख्यमन्त्रीका लागि दाबी पेश भएको थियो।
नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन रहेको थियो।
त्यस्तै कैलाश चौधरीलाई माओवादी केन्द्र र एमालेको समर्थन थियो। नाउपा संसदीय दल विभाजित भएपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गर्दै संविधानको धारा १६८ (२) अनुसार मंगलबार पुनः सरकार गठनका लागि आह्वान गरेका थिए।