जनता समाजवादी पार्टी ( जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दैछ। नयाँ बानेश्वरको इन्द्रेणी ब्याङ्क्वेटमा शुक्रबार दिउँसो १ बजे जसपा नेपालले भूमि अध्यादेशबारे अन्तरक्रिया गर्न लागेको पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
अन्तरक्रियामा नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु सम्बोधन गर्ने कार्यसूची छ।
जसपा नेपालले सरकारले जारी गरेको भूमि अध्यादेश राष्ट्र हितविपरीत रहेकाले फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ। राष्ट्रिय सभामा सत्ता पक्षसँग बहुमत छैन। राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत नहुने भएकाले सरकारले कार्यसूचीमा चढाउन सकेको छैन।
सत्ता पक्षको जसपा नेपाललाई मनाएर अध्यादेश स्वीकृत गराउने योजना थियो। उसले कार्यदल बनाएर छलफल गर्ने पनि निर्णय गरेको थियो।
तर जसपाले भूमि अध्यादेश फिर्तै गर्नुपर्ने अडान राखेपछि सरकार अप्ठ्यारोमा परेको छ। अब राष्ट्रिय सभाको बैठक फागुन १८ गते र प्रतिनिधि सभाको बैठक फागुन २१ गतेलाई तोकिएको छ।