बर्लिन पर्खाल ढलेर जर्मनी एकीकरण भएको साढे तीन दशकपछि यस पटकको आम निर्वाचनमा जर्मन मतदाता फेरि पूर्व र पश्चिम जर्मनीमा विभाजित देखिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनको सर्तमा युक्रेनमाथि शान्ति सम्झौता लाद्ने खतरा बढिरहेको बेला भएको चुनावमा पूर्वी र पश्चिमी भाग पुटिनको समर्थन गर्ने र विरोध गर्नेमा विभाजित देखिएको छ।
आइतबार भएको निर्वाचनमा क्रिस्टियन डेमोक्र्याटिक युनियन (सिडियू)—उसको बभेरियाको क्षेत्रीय भगिनी पार्टी क्रिस्टियन सोसियल युनियन (सिएसयू) समेत जोडेर—सबैभन्दा ठूलो पार्टी बन्यो। पूर्व चान्सलर एन्गेला मर्कलले विगतमा नेतृत्व गरेको सो पार्टीका रूस विरोधी फ्रेडेरिच मर्ज नयाँ सरकार प्रमुख हुने देखिन्छ।
पुटिनको समर्थन गर्ने उग्र दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले २० प्रतिशतभन्दा बढी मत ल्याएर दोस्रो ठूलो दल बनेको छ।
अहिले पनि पूर्वी जर्मनी बेग्लै देश भएको भए त्यहाँ झण्डै एक-तिहाइ मतसहित एएफडी सबभन्दा ठूलो दल बन्ने थियो भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
बर्लिनदेखि बाहेक तत्कालीन पूर्व जर्मनीका ४८ चुनावी जिल्लामध्ये दुई वटा मात्रै एएफडी जितेन। कतिपय जिल्लामा त एएफडीले झण्डै ५० प्रतिशत मत ल्याएको छ।
गत जुनमा भएको युरोपेली संसदको निर्वाचनमा पनि पूर्व र पश्चिम जर्मनीका मतदाता विभाजित थिए।
दोस्रो विश्वयुद्धमा हिटलरको जर्मनीलाई हराएपछि त्यहाँ विजेता अमेरिका र तत्कालीन सोभियत संघले कब्जा गरेका थिए। सोभियत संघले पूर्वी भाग कब्जा गरेको थियो भने अमेरिकाले पश्चिमी। बर्लिन सहर पनि बीचमा पर्खाल लगाएर पूर्व र पश्चिम जर्मनीमा बाँडिएको थियो।
पश्चिम जर्मनी अमेरिकाले सोभियत संघविरूद्ध बनाएको नेटोको सदस्य थियो र त्यहाँ प्रजातन्त्रिक व्यवस्था थियो। अर्कोतर्फ पूर्वमा कम्युनिष्ट व्यवस्था थियो। त्यसैले पूर्व जर्मनीमा सोभियत सैनिक थिए भने पश्चिममा अमेरिकी।
शीत युद्धको अन्त्यतिर सोभियत संघ कमजोर हुँदै गएकाले पूर्व जर्मनीका जनता आफैंले १९८९ मा बर्लिनको पर्खाल भत्काएपछि दुई देश एकीकरण भएर फेरि एउटै जर्मनी बनेको थियो।
बर्लिनको पर्खाल भत्किँदा पुटिन सोभियत गुप्तचर संस्था केजीबीको अधिकृतका रूपमा पूर्व जर्मनीमा खटिएका थिए।
जर्मनी एकीकरणको ३५ वर्षपछि अहिले मुख्यत: आर्थिक असमानताका कारण जर्मनी फेरि विभाजित जस्तो देखिएको छ। विकसित र तुलनात्मक रूपमा धनी पश्चिमी भागका र कम विकसित पूर्वी भागका जनताको फरक रोजाइ देखिन्छ।
उग्र दक्षिणपन्थी भयो भनेर सबै पार्टीले बहिष्कार गर्ने एएफडीलाई पूर्वी भागका जनताले यसपालि भोट हालेका छन्। एएफडीलाई नाजीवादी पार्टी मानिन्छ र जर्मन सरकारले उग्र दक्षिणपन्थी झुकावका कारण यसलाई सुरक्षा खतरा मानेर निगरानी गर्छ।
पुटिनको समर्थन गर्ने एएफडीलाई ट्रम्पले पनि समर्थन गर्छन्। फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै अमेरिकी उपराष्ट्रपति जे डी भान्सले उग्र दक्षिणपन्थी दलहरूलाई युरोपले निषेध गरेकोमा विरोध गर्दै युरोपेली देशलाई लोकतन्त्रको पाठ पढाएका थिए।
ट्रम्प र उनका समर्थक विश्वका सबभन्दा धनी व्यक्ति इलन मस्कले समर्थन गरेको एएफडीले त्यसको एक हप्तापछि भएको चुनावमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो ठूलो दल बनेको हो।
यसपालिको चुनावमा पूर्वी भागका ४२ प्रतिशत जनताले मात्रै पारम्परिक पश्चिम जर्मनीका दललाई भोट हाले।
कम्युनिस्ट शासन भोगेका पूर्वी जर्मनीका जनतामा पश्चिमको जस्तो प्रजातन्त्रिक संस्कार विकसित नभई सकेका कारणले पनि असहिष्णु र अतिवादी एएफडीलाई समर्थन गरेका हुनसक्छन्। त्यस्तै शीत युद्धको बेलादेखि नै त्यहाँका जनता मस्कोसँग नजिक भएकाले अहिले पनि पुटिनको रूसतर्फ सहानुभूति हुनसक्छ। त्यसैले पनि उनीहरूले यसपालि एएफडीलाई भोट हालेका हुनसक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)