नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेता जनार्दन शर्माले गलत आरोप लगाएको बताएका छन्।
शनिबार सचिवालय बैठक सकाएर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँग कुराकानी क्रममा नेता शर्माले लगाएका आरोपहरू गलत रहेको बताएका हुन्।
पत्रकारहरुले प्रचण्डलाई महाधिवेशन टार्न खोजेको र माओवाद छाड्न खोजेको भनेर लगाएको आरोपबारे प्रश्न गरेका थिए।
'गलत आरोप हो। अराजक आरोप हो,' जबाफमा प्रचण्डले भने, 'केही छोडेको छैन।'
प्रचण्डले बैठक बीचमै छाडेर नेता शर्मा बाहिरिएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे।
'बैठक राम्रो सुरू भएको थियो। सबैको कुरा सुनौं भनेको थिएँ। उहाँले विषय राख्नुभयो उठेर हिँड्नुभयो। त्यो शैली उहाँको नराम्रो हो। कसैलाई मन पर्ने शैली होइन,' उनले भने।
संयोजक प्रचण्डले पार्टी एकजुट रहेको पनि बताए। आगामी केन्द्रीय समिति बैठकसम्म जनार्दन शर्मा पनि एक हुने दाबी उनले गरे।
शर्माले एकीकृत समाजवादीसँग एकता तत्काल गर्न नहुने भनाइ बैठकमा राखेका थिए।
नेतृत्व हस्तान्तरणको बहस र महाधिवेशनको तयारी छाडेर पार्टी एकता गर्न लागेको भन्दै शर्माले यसले पार्टीको पहिचान नै मेटिने बताएका छन्।
'नेतृत्व हस्तान्तरण मुख्य कुरा हो। नेतृत्व हस्तान्तरणतिर जाने विधिसम्मत ढंगबाट जाने भन्ने कुरालाई पूरै अस्वीकार गर्दै जसरी यहाँ फेरि पनि मनोनीत गरेर आफ्नो वरिपरि सुरक्षित घेर बनाउने प्रयत्न हुँदैछ। यो कुराले यो पार्टीलाई अगाडि बढाउन सक्दैन भनेर म बाहिरिएँ,' शर्माले पत्रकारहरूसँग भनेका थिए।