भारतको गृह मन्त्रालयले नेपाली नगारिक सम्भवी अधिकारीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको घटनालाई विभेदकारी र गलत ढंगले प्रस्तुत गरिएको बताएको छ।
भारतीय गृह मन्त्रलायले एक विज्ञप्ति जारी गर्दै सम्भवी अधिकारीलाई एयरपोर्टमा रोक्नुमा भारतीय अध्यागमनको कुनै भूमिका नभएको जनाएको छ।
सम्भवी अधिकारी काठमाडौंबाट एयर इण्डियाको जहाजबाट दिल्ली पुगेको र उनलाई बर्लिनका लागि अर्को जहाज कतार एयरवेज चढ्ने क्रममा रोकिएको विज्ञप्तिमा उल्लेख छ।
भारतको अध्यागमनले यस्ता घटनामा अध्यागमनको भूमिका नहुने र सम्बन्धित देशको नियमहरू लागू हुने जनाएको छ। साथै अन्तर्राष्ट्रिय ट्राजिन्टका यात्रुहरूलाई भारतीय अध्यागमनमा जान आवश्यक नभएको जनाएको छ। साथै यो घटना एयरलाइन्स र यात्रुबीचको भएको जनाएको छ।
दिल्लीस्थित नेपाली दूतावासले पनि दिल्लीस्थित एयरपोर्टमा नेपाली नागरिक रोकिएको घटनालाई नोट गरेको जनाएको छ। साथै सम्भवी अधिकारीलाई काठमाडौं फर्काइएको उल्लेख गरेको छ।
दुतावासले भारतको गृह मन्त्रालयले घटनामा तत्कालै प्रतिक्रिया दिएर सहयोग गरेको जनाएको छ। साथै अन्य विमानस्थलमा भएका निकाय र एयरलाइन्ससँग पनि भविष्यमा यस्ता घटना हुन नदिन सम्पर्क गर्ने जनाएको छ।
दिल्ली स्थित नेपाली दुतावासका प्रवक्ता मनोज सिंहले सम्भवीको समस्याबारे चार/पाँच दिन आफूलाई फोनमा जानकारी आए लगत्तै उक्त विषयलाई गम्भीरता पूर्वक लिइएको बताए।
‘सम्भवीजीले एक जना अर्को व्यक्ति मार्फत् सम्पर्क गर्नुभएको थियो’, सिंहले भने, ‘उहाँले एयरपोर्ट अथोरिटीले मलाई जान दिएन भन्नुभयो। अथोरिटीले सहयोग गरेको छैन भन्नुभयो। आफ्नो फ्लाइट छुटेको भनेपछि मैले कुरा गर्न खोजेँ। तर त्यहाँको काउन्टरको मानिसले कुरा गरेन।’
उक्त घटनाबारे भारतीय विदेश मन्त्रालय मार्फत् भारत सरकारसँग पुर्याएको सिंहले बताए।
‘जुनसुकै देशका नागरिक भएपनि गम्भीर समस्या नभएसम्म जान दिनुपर्छ। कुन निकायको कमजोरी हो उसले जिम्मा लिनुपर्छ भन्ने कुरा भएको छ’, सिंहले भने, ‘एयरलाइन्स वा अन्य निकायका कारण वा जानेको तालमेल नमिलेर हो, हामी हेरिराखेका छौँ। तर कसैले दु:ख पाउनु भएन। ’
घटनापछि काठमाडौं फर्किएकी सम्भवी अहिले बर्लिन पुगिसकेको बताइएको छ।