दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक सोमबार साँझ भएको कार विस्फोटको अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सीलाई जिम्मा दिइएको छ।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार यो निर्णय विस्फोटलाई आतंकवादी योजनासँग जोड्ने महत्त्वपूर्ण प्रमाणहरू फेला परेपछि गरिएको हो।
यो घटनामा १३ जनाको मृत्यु र २१ जना घाइते भएका थिए।
विस्फोटमा प्रयोग भएको कार जम्मु–कश्मीरका एक डाक्टरको भएको अनुसन्धानबाट खुलेको छ। ती डाक्टरको सम्बन्ध केही दिनअघि हरियाणाको फरिदाबादमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थसँग रहेको आशंका छ।
दिल्ली विस्फोटमा अहिलेसम्म अनुसन्धान अधिकारीहरूले के के पत्ता लगाए त?
हराइरहेका पुलवामाका डाक्टर उमर उनीबी 'मुख्य पात्र'
दिल्ली विस्फोटपछि जब कारको स्वामित्व खोजी गरियो, तब त्यो जम्मु–कश्मीरको पुलवामा निवासी डा. उमर उन नबीले प्रयोग गरिरहेको पत्ता लाग्यो।
त्यसैबीच फरिदाबादमा २९ सय किलो एमोनियम नाइट्रेट लगायत अन्य विस्फोटक पदार्थ फेला परेको घटनामा दुई जना व्यक्ति पक्राउ गरिएको थियो। अनुसन्धान गर्दै जाँदा ती दुई व्यक्तिको तार डा. उमर उन नबीसँग जोडिएको भेटियो।
डा. उमर फरिदाबाद घटनामा पक्राउ परेका दुई जनासँग सम्पर्कमा थिए। उनीहरू डा. मुजम्मिल शाकिल र अदिल अहमद हुन्। डा. मुजम्मिल शाकिल पनि पुलवामाकै हुन्।
फरिदाबादमा विस्फोटक पदार्थ फेला परेको घटनापछि नै उमर बेपत्ता छन्।
के यो आत्मघाती हमला हुन सक्छ?
प्रहरी अधिकारीहरू उमर उन नबीले नै लाल किल्लामा विस्फोट भएको कार चलाइरहको दाबी गर्छन्। उनले राति ट्राफिक लाइट नजिक कारको गति कम गरेपछि विस्फोट भएको थियो।
'आफ्ना दुई जना साथी पक्राउ परेपछि उनले विस्फोट गर्ने योजना बनाएको देखिन्छ,' एक प्रहरी अधिकारीले भने, 'उमर त्यसपछि हराएका थिए। यसबाट आत्मघाती आक्रमण भएको हुनसक्छ भन्ने अनुमान बलियो बनेको छ।'
उमरको परिवारका सदस्यहरू (आमा लगायत) लाई डिएनए परीक्षणका लागि बोलाइएको छ, ताकि उनी मृतकमध्ये एक हुन् कि होइनन् भन्ने पुष्टि गर्न सकियोस्।
हालसम्म १३ मध्ये ६ शव पहिचान भएको छैन।
यो घटनामा कारको स्वामित्व पत्ता लगाउनु नै उमरसम्म पुग्ने मुख्य सूत्र बनेको प्रहरी बताउँछ।
'कार पहिलोपटक सलमान भन्ने व्यक्तिको नाममा थियो। उनले देविन्दरलाई बेचेका रहेछन्। देविन्दरले फेरि तारिक नामका व्यक्तिलाई बेचेका थिए। जब हामी तारिकको खोजी गर्दै थियौं, अन्तिम पटक कार उमरको साथमा रहेको पत्ता लाग्यो,' अनुसन्धान अधिकृतले भने।
फरिदाबादसँग कनेक्सन
हरियाणा प्रहरीले पनि डा. उमर उन नबीलाई फरिदाबादबाट बरामद गरिएको करिब २९ सय किलो विस्फोटक पदार्थसँग जोडिएको मुख्य अभियुक्तका रूपमा पहिचान गरेको छ।
उनी तीन वर्षदेखि अल-फलाह मेडिकल कलेज, फरिदाबादमा कार्यरत थिए, जहाँ मुजम्मिल शाकिल पनि काम गर्थे।
पक्राउ परेका अर्का डाक्टर अदिल अहमद अनन्तनाग मेडिकल कलेजका पूर्ववरिष्ठ रेसिडेन्ट हुन्। उनले पनि उमरसँगै मिलेर लाल किल्ला विस्फोटको योजना बनाएको बताइएको छ।
प्रहरीले फरिदाबाद र दिल्लीबीचका विभिन्न क्षेत्रका सिसिटिभी फुटेज विश्लेषण गर्दै उमर र शाकिलको गतिविधि पत्ता लगाइरहेको छ।
फरिदाबाद प्रहरीका सहायक आयुक्त वरूण दहियाका अनुसार उमर उन नबीले कति समयदेखि त्यहाँ काम गरिरहेका थिए र उनको संलग्नता कति गहिरो थियो भन्नेबारे अनुसन्धान जारी छ।
प्रारम्भिक विवरणअनुसार उमर र शाकिलले फरिदाबादको धौज गाउँमा दुईवटा कोठा भाडामा लिएका थिए। एउटाको मासिक भाडा १२ सय थियो भने अर्कोको १४ सय।
उनीहरूले दुई–दुई महिनाको अग्रिम भाडा जम्मा गरी त्यहाँ विस्फोटक पदार्थ भण्डारण गरेका थिए।
विस्फोट आकस्मिक थियो कि योजनाबद्ध?
अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्, कारभित्रै बोकिएको विस्फोटक पदार्थ आकस्मिक रूपमा पड्केको हुन सक्छ।
विस्फोटको तीव्रता र तापका आधारमा 'एमोनिया जेल' वा त्यसजस्तै उच्च–शक्ति भएको विस्फोटक प्रयोग भएको देखिन्छ।
जम्मु–कश्मीरमा पनि छापा र पक्राउ
जम्मु–कश्मीर प्रहरीले पनि पछिल्ला पाँच दिनदेखि विभिन्न स्थानमा छापा मारी छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उमर उन नबीका तीन जना आफन्त पनि छन्।
प्रहरीका अनुसार यी छापाहरू सम्भावित आतंकवादी गतिविधिको आशंकामा गरिएको हो।