बिहार विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मध्याह्न १२ बजेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर छ।
कुल २४३ सिटको विधानसभामा अहिलेसम्म १९२ सिटमा एनडिए गठबन्धनले अग्रता लिइरहेको छ।
यहाँ सरकार बनाउन कुनै दल वा गठबन्धनले १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ। एनडिएले अहिलसम्म जति सिटमा अग्रता लिइरहेको छ, त्यो दुईतिहाइलाई चाहिने न्यूनतम सिटभन्दा निकै बढी हो।
यही अग्रता कायम रहे ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित फेरि बिहारका मुख्यमन्त्री बन्ने छन्।
अर्कातिर राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धनले ४८ सिटमा अग्रता लिइरहेको छ। महागठबन्धनले ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ।
पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले अहिलेसम्म एउटा सिटमा पनि अग्रता लिएको छैन।
यसअघि सार्वजनिक विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) का नतिजाले पनि एनडिए गठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान गरेको थियो।
यसपालि बिहार विधानसभा चुनाव अर्को कारणले पनि महत्त्वपूर्ण छ। यहाँ पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका दुई छोरा एउटै राजनीतिक मैदानमा विपरीत पक्षबाट प्रतिस्पर्धा गरिरहेका छन्।
आरजेडी अध्यक्ष लालु यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट छ वर्षका लागि निष्कासन गरेपछि उनी विपरीत कित्तामा लागेका हुन्।
तेजप्रतापलाई उनको 'गैरजिम्मेवार व्यवहार' र पार्टीको मर्यादा पालना नगरेको भन्दै निष्कासन गरिएको थियो।
उक्त निर्णय एउटा फेसबुक पोस्टपछि आएको हो, जहाँ ३७ वर्षीय तेजप्रतापले अनुष्का यादवसँगको लामो सम्बन्धबारे लेखेको दाबी गरिएको थियो।
तेजप्रतापले भने आफ्नो फेसबुक ह्याक गरिएको र फोटोहरू सम्पादन गरी बदनाम गर्न खोजिएको बताएका थिए।
पार्टीबाट छुट्टिएपछि तेजप्रतापले जनशक्ति जनता दल (जेजेडी) गठन गरे र अगस्ट ५ मा पाँच साना दलसँग गठबन्धन घोषणा गरे। ती पाँच दलमा वञ्चित विकास इन्सान पार्टी, भोजपुरीया जन मोर्चा, प्रगतिशील जनता पार्टी, वाजिब अधिकार पार्टी र संयुक्त किसान विकास पार्टी छन्। यही गठबन्धनमार्फत उनी विधानसभा चुनावमा ओर्लिएका हुन्।
उनी चुनाव उठेको वैशाली जिल्लाको महुआ निर्वाचन क्षेत्रको अहिलेसम्मको नतिजा हेर्दा तेजप्रतापले खासै प्रभाव देखाउन सकेका छैनन्। प्रारम्भिक मतगणनामा उनी तेस्रो स्थानमा छन्।
यहाँ एलजेपी (रामविलास) का उम्मेदवार सञ्जय कुमार सिंहले १० हजार ३०१ मत ल्याएर अग्रस्थानमा छन् भने आरजेडीका मुकेश रोशनले ६ हजार ७८१ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका जेजेडीका तेजप्रताप यादवले जम्मा १ हजार ५०० मत परेको छ।
यस अनुसार तेजप्रताप एलजेपीका उम्मेदवारभन्दा झन्डै ९ हजार मतले पछाडि छन्।
उनका भाइ तेजस्वी यादव भने महागठबन्धनका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार हुन्। उनको निर्वाचन क्षेत्र वैशाली जिल्लाको राघोपुर हो। उनी अहिलेसम्म आफ्ना प्रतिस्पर्धी भाजपाका सतीश कुमारभन्दा अगाडि छन्।
सन् २०२० को परिणामसँग तुलना गर्दा यो परिस्थिति निकै फरक छ। त्यो बेला तेजप्रतापले आरजेडीका तर्फबाट हसनपुरमा २० हजारभन्दा बढी मतले जितेका थिए।
मतगणनाको दिन देखिएको दृश्य मूलतः दुई दाजुभाइबीचको विवादको कथा जस्तै छ। दाजु तेजप्रताप परिवारको पार्टीबाट निकालिएपछि नयाँ राजनीतिक पहिचान बनाउन संघर्षरत देखिन्छन् भने भाइ तेजस्वी विपक्षी गठबन्धनको मुख्य अनुहार भएर अगाडि बढिरहेका छन्।
महुवाको मत परिणामले देखाउँछ, तेजप्रतापको पार्टी विभाजनले उनलाई कडा चुनावी संघर्षमा धकेलेको छ।
तेजप्रतापले पहिले एक्जिट पोललाई खारेज गर्दै भनेका थिए, 'म एक्जिट पोलमा विश्वास गर्दिनँ। १४ नोभेम्बरमा के हुन्छ, हेर्दै जाऊँ।'