नेपाली कांग्रेसले डेढ महिना छलफल गरेपछि चुनावअघि नै १५ औं महाधिवेशन गर्ने निर्णय गर्यो।
तर छोटो समयमा महाधिवेशन हुन नसक्ने भन्दै कतिपयले विशेष महाधिवेशनको सम्भावनासमेत देखाइरहेका छन्।
पूर्वउपसभापति विमलेन्द्र निधि फागुन २१ को चुनावमा होमिनुपर्ने र वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा थिए।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुराकानी गरेपछि निधि लगायत नेताहरू पनि पुसमै महाधिवेशन गर्न तयार भए र केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भयो।
चुनावअघि महाधिवेशन कार्यतालिका ल्याउन कसरी सम्भव भयो र कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रित रहेर पूर्वउपसभापति विमलेन्द्र निधिसँग गरिएको कुराकानी।
नेपाली कांग्रेस केन्द्रीय समितिले छोटो समयको तयारीमै १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने गरी कार्यतालिका ल्यायो, यो अवधिमा महाधिवेशन हुन्छ कि हुँदैन, तपाईंलाई के लाग्छ?
केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशनको निर्णय गरेको छ। यो निर्णयपछि त यो अवधिमा महाधिवेशन हुन्छ कि हुँदैन भनेर मैले भन्न हुँदैन। यो निर्णय लिनुअघि नै हामीले फागुन २१ को आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन गर्न हुँदैन भनेका थियौं। किनभने, त्यो सम्भव छैन। प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले समय खर्च गर्ने कि महाधिवेशनका लागि? त्यस कारण महाधिवेशन सम्पन्न गर्न सम्भव छैन भनेका थियौं।
पदाधिकारीहरूले भने इच्छाशक्ति भए छोटो समयकै तयारीमा महाधिवेशन सम्भव छ भन्नुभएको थियो। विधानका कतिपय धारा निलम्बन गरेर भए पनि महाधिवेशन सम्भव छ भन्नुभएको थियो। म चाहिँ निलम्बन गरेर महाधिवेशन गर्न धाँधली हुन्छ भन्थेँ।
उहाँहरूले सभापति शेरबहादुर देउवाजीलाई चुनावअघि महाधिवेशन गर्न मनाउनुभयो। सभापतिबाटै निर्वाचनभन्दा पहिले पुसमै महाधिवेशन गराउने कुराका लागि लबिङ नै गराउनुभयो।
एकातिर शेरबहादुरजीलाई नेतृत्वबाट हटाउनुपर्छ, शेरबहादुरजीलाई सक्रिय गर्न हुँदैन भनेर उहाँहरूले नै भन्ने, अनि शेरबहादुरजीलाई नै सक्रिय गराएर हामीलाई पनि चुनावअघि महाधिवेशन गर्न मनाउने, यही भएको त हो नि!
शेरबहादुरजीले नै यो पार्टी फुट्नबाट जोगाउनुपर्यो, म जाने बेला पार्टी फुटोस् भन्ने म चाहन्न। पार्टीको पदीय जिम्मेवारी छाड्ने बेला सभापतिले नियमित महाधिवेशन गरौं भनेर हामी सबैलाई भनेकाले पुसभित्रै महाधिवेशन गर्न म र मलाई साथ दिने साथीहरूले साथ दिएको हो।
त्यस कारण १५ औं महाधिवेशनको निर्णय भयो। सर्वसम्मत रूपमा भयो। सर्वसम्मतिले पुसभित्रै १५ औं महाधिवेशन गर्ने निर्णय भइसकेपछि यो अवधिमा नियमित महाधिवेशन हुँदैन भनेर भन्न भएन।
केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिका आउनुअघि तपाईंहरूले सभापति देउवालाई भेट्नुभएको थियो, त्यहाँ के कुरा भएको थियो?
चुनावअघि महाधिवेशन कार्यतालिका ल्याए साथ दिँदैनौं भनेर हामीले भनिरहेका थियौं। सभापति निवासमा तीन–चार दिनदेखि यस विषयमा छलफल चलिरहेको थियो। हामी चुनावअघि महाधिवेशनका पक्षमा छैनौं, फरक मत राख्छौं भनेर अडान राखेको अवस्था थियो।
त्यसैले केन्द्रीय कार्यसमितिबाट महाधिवेशन कार्यतालिका ल्याउने बेला सभापतिजीका भनाइलाई मानौं भन्ने कुरा सबै साथीहरूबाट आएपछि ठिकै छ भनेर सभापतिजीसँग कुराकानी गरेका थियौं।
हामीले सभापतिजीलाई हाम्रो तर्क र तथ्यका आधारमा होइन, सभापतिजीको भनाइका आधारमा हामीले सर्वसम्मतिले पुसभित्रै महाधिवेशन कार्यतालिकामा सहमति जनायौं भनियो।
कार्यतालिका रकेट गतिको भनेर पनि नेताहरूले टिप्पणी गरेको सुनियो, के लाग्छ तपाईंलाई?
क–कसले के के भन्यो भन्ने कुरा ठूलो त होइन तर तपाईंहरूले पनि बुझ्नुहुन्छ। महाधिवेशन सम्भव छ भने गर्ने केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले हो, उहाँहरूले महाधिवेशनलाई सफल बनाउनुपर्यो, हामीहरूले पनि सक्दो सहयोग गर्ने हो।
कतिपय नेताहरूले कार्यतालिकामा आशंका गरेका छन्, यो महाधिवेशन गर्न होइन, ल्याउनका लागि ल्याएको कार्यतालिका हो भनेर, के भन्नुहुन्छ?
त्यसको जबाफ म दिन्नँ। यो पदाधिकारीहरूले दिने जबाफ हो। महाधिवेशन हुन्न, ल्याउनका लागि ल्याएको कार्यतालिका हो भन्ने कुरा आउँछ भने त्यसको जबाफ म दिन्नँ, पदाधिकारीहरूले दिनुहोला। सभापति, कार्यवाहक सभापति, दुवै महामन्त्री, नेता शेखर कोइरालाले दिनुहोला। किनभने, शेखर कोइरालाजीको धारणा पनि पुसमै महाधिवेशन गरौं भन्ने त थियो। त्यो जबाफ उहाँहरूले नै दिनुहुन्छ, मैले जबाफ दिनुपर्ने जरूरी छैन।
अबको ठ्याक्कै एक महिनामा वडा अधिवेशन छ, तपाईंहरू तयारीमा पनि लाग्नुपर्ने होला। तपाईं चाहिँ अबको महाधिवेशनमा के उठ्नुहुन्छ?
म उठ्ने भनेको सभापति पदमै हो। २०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेरबहादुर देउवासँग सभापति पदमै प्रतिस्पर्धा गरेको हुँ। १४औं महाधिवेशनमा नै शेरबहादुरजीको सट्टामा नेतृत्व हस्तान्तरण होस् भन्ने चाहेको हो, उहाँहरूले त्यस बेला साथ दिनुभएन। अहिले १५औं महाधिवेशनमा पनि सभापतिमै उठ्ने इच्छा छ। तर इच्छा भएर मात्र हुँदैन, हामी आफ्नो समूहका साथीहरूमा छलफल गर्छौं र निर्णय गर्छौं।
त्यो समूह भनेको ६/७ जना नेताहरूको हो कि?
शशांक कोइराला, प्रकाशमान सिंह र मैले सुरू गरेको यो समूह विस्तारित हुँदैछ। तीन जनाबाट सुरू भएको थियो, ७ जना भयो, त्यसपछि १७ जना पुगेकामा अहिले केन्द्रीय सदस्यहरू पनि थपिएर ९० जना हाराहारी पुगिसकेको छ।
यो समूहले निर्णय गरे तपाईं सभापति उम्मेदवार बन्ने?
हो, किन नहुने, सभापति उठ्छु नि त।
यो समूहलाई सभापति देउवाको आशीर्वाद हुन्छ कि हुन्न?
सभापति शेरबहादुरजीको आशीर्वादचाहिँ सबैले खोजेको छ है, हामीले मात्र होइन। अचम्मको छ राजनीति!
एकातिर शेरबहादुरजीका कारण सबै बिग्रियो भनेर आलोचना पनि गर्ने, अर्कातिर आशीर्वाद पनि खोज्ने। शेरबहादुरजीलाई जसले हटाउन खोजेको छ, शेखर कोइराला र गगन थापाहरूले पनि उहाँकै आशीर्वाद खोजेको छ। मैले आशीर्वाद खोज्नु त स्वाभाविक हो नि त। हामी सबैले देउवाजीको आशीर्वाद खोजेका छौं। शेरबहादुरजीको समर्थन र सहयोग स्वाभाविक हो।
तपाईंको समूहमा रहेका ६/७ जना नेता सबै सभापति आकांक्षी हुनुहुन्छ, प्रतिस्पर्धा गर्ने हो सबैले?
सबै जनाको इच्छा होला, त्यसरी कुरा गरिसकेको छैन। यो विषय नै प्रवेश गरिसकेको छैन। तर मैले सुरू गरेको त १४औं महाधिवेशनदेखि हो।
विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला मिलेर १४औं महाधिवेशनदेखि नै छलफलहरू गर्दै आएका हौं। हामीलाई नेतापुत्र भनेर आलोचना पनि गर्छन्, जेसुकै होस्। हाम्रो यो समूहमा कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार थपिनुभएको हो। साथीहरू थपिँदै हुनुहुन्छ। ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउद, राजीव ढुंगाना, नैनसिंह महर, कुन्दनराज काफ्ले लगायत केन्द्रीय समितिमा रहेका युवा साथीहरू पनि थपिनुभएको छ।
यो समूहमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का थपिने सम्भावना छ कि छैन?
कार्यवाहक सभापतिजी पनि यसैमा रहने सम्भावना छ। हामी सँगै छौं। तर अहिले उहाँ कार्यवाहक सभापति भएकाले भूमिका भिन्न भयो। तर हामी सबैसँग सल्लाह गर्छौं।
योभन्दा अलग कुरा पनि गर्छु। मैले त १४औं महाधिवेशन बेला पनि भनेको थिएँ, अहिले पनि भन्छु। अहिले राजनीतिको आवश्यकता संविधान, लोकतन्त्र, प्रणाली जोगाउने हो, चुनावमा भाग लिने र कसैले बहुमत ल्याउने मात्र होइन। अथवा बहुमत आएन भने कोसँग मिल्ने, गठबन्धन गर्ने भन्ने त्यस्तो सामान्य अवस्थाको चुनाव यो फागुन २१ को होइन। संविधान र प्रणाली रक्षा गर्न अहिलेको चुनाव हो। यस्तो बेला नेपाली कांग्रेसले एकताबद्ध भएर भूमिका प्रस्तुत गर्नुपर्छ। अहिलेको महाधिवेशनमा निर्विरोध सभापति भयो भने सबभन्दा राम्रो हुन्छ, मैले यो कुरा पहिला पनि भनेको थिएँ। निर्विरोध सभापति हुने अवस्था छ भने म जुनसुकै त्याग गर्न तयार छु।
तर अहिले त के छ भने फलानो मानिस सभापति वा प्रधानमन्त्री हुनुपर्छ भन्नेसम्म अभियान चलेको छ। व्यक्तिकेन्द्रित राजनीति चलिरहेको छ। फलानो मानिस सभापति र प्रधानमन्त्री नभए पार्टी मात्र होइन, देश नै कमजोर हुन्छ र हस्तान्तरण र रूपान्तरण हुँदैन भन्ने प्रचार छ। यो त्रुटिपूर्ण र अधुरो चिन्तनको अभिव्यक्ति व्याप्त छ। यसलाई म सकारात्मक सोच मान्दिनँ।
कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतिबाट भयो भने असाध्यै राम्रो हुन्छ। त्यसका लागि सबै जना मिलेर प्रयास गर्ने र पदीय राजनीतिबाट बाहिर जान लाग्नुभएका सभापति देउवाजीले पनि प्रयास गर्ने हो भने र सबैले सहयोग गरेमा त्यही उत्तम हुनेछ भन्ने लाग्छ।
तपाईंहरूले सभापति उम्मेदवार तोकिदिनुस् भनेर सभापति देउवालाई भन्नुहुन्छ कि आफै छलफल गरेर निर्णयमा पुग्नुहुन्छ?
यो प्रश्न अहिले गर्ने बेला भएको छैन भन्ने मलाई लाग्छ।
अन्तिममा, नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको सम्भावना के छ?
विशेष महाधिवेशनको औचित्य सकिइसक्यो।
कसरी सकियो, ५४ प्रतिशतको हस्ताक्षर फिर्ता भएको छैन त?
केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा नियमित महाधिवेशनको कार्यतालिका आइसक्यो। त्यसैले विशेष महाधिवेशनको औचित्य सकियो। साथै विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिमा पेस भएकै छैन। जसले आह्वान गर्नुभयो, दुवै महामन्त्रीहरूले। उहाँहरूकै सहमतिमा अहिले नियमित महाधिवेशन कार्यतालिका ल्याएको छ, त्यसैले विशेष महाधिवेशनको औचित्य सदाका लागि सकिइसक्यो।
हिजो केन्द्रीय समितिमा महामन्त्री गगन थापाले नियमित नभए विशेष महाधिवेशन हुन्छ भन्ने खालको धारणा दर्ता गराउनुभएको रहेछ!
उहाँले कहाँ पेस गर्नुभयो, हामीलाई केही थाहा छैन यसबारे।
***