दाङमा विषालु जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
मंगलबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।
सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुका नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारको लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।
मंगलबार बिहान ३ बजेतिर घर्तीको निधन भएको एसपी सिंहले जानकारी दिइन् ।
आइतबार मात्रै घोराही १९ कै १९ वर्षीय बलराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।
त्यसअघि जंगली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही १९ कै ५ वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते उपचारको क्रममा कोहलपुरमै मृत्यु भएको थियो।
एकै वडाका ३ जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझै आधा दर्जन जति व्यक्तिहरूको बाँकेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो बीचमा तुलसीपुर र घोराही क्षेत्रमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या झन्डै ४ दर्जन जति पुगेको प्रहरीले जानकारी दिएको छ। अन्य भने उपचार पछि घर गइसकेका छन्।