(मृतक र घाइतेको नाम ठेगानासहित)
प्रदेश नं. ५ अन्तर्गतको एउटा पहाडी जिल्ला रुकुम पूर्वमा यात्रुबहाक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
५ नं. प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुर दाङले ४ पुरुष र ३ महिला गरि ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। प्रदेश नं. ५ का प्रदेश प्रहरी प्रमुख तथा डिआईजी शेरबहादुर बस्नेतले जीप दुर्घटनामा मृतको संख्या ७ पुगेको सेतोपाटीलाई जानकारी दिएका छन्। दुर्घटनाका ४ जना गम्भीर घाइतेलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौंस्थित टिचिङ हस्पिटलमा लगिएको डिआईजी बस्नेतले बताए ।
मृतक ७ जनाको नाम र ठेगाना
जीप दुर्घटनामा परि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मैकोट निवासी ३७ बर्षीय कुमार पुन, सोही गाउँपालिका वडा नं. १२ निवासी २०/२२ वर्षिया तिर्सना तुलाचन, सोही गाउँपालिकाको वडा नं. २ निवासी अन्दाजी २२ वर्षीय किरण पुन, सोही ठाउँकै ३१ वर्षीय बुद्धिराज पुन, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ निवासी ३१ बर्षीया सालेना बर्मा, भूमि गाउँपालिका वडा नं. ४ तल्लो साकिम निवासी २८ बर्षीय अर्जुन विक र बाँके जिल्ला घर भएको भनिएकी अन्दाजी २०/२२ वर्षीया ललिता परियारको मृत्यु भएको डिआईजी बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप ३ जनाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। उनले अर्जुन विक र ललिता परियार पूर्वी रुकुमस्थित आशा प्रोजेक्टमा कार्यरत रहेको भन्ने खुल्न आएको पनि जानकारी दिए।
काठमाडौं लगिएका ४ जना घाइते
उक्त जीप दुर्घटनामा परि गम्भीर घाइते भएका जीपका चालकसहित चार जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत दिउँसो सवा ५ बजेतिर काठमाडौं लगिएको छ। दुर्घटनामा परि जीपका चालक तथा मुसिकोट नगरपालिका वडा नं. १२ निवासी ५२ वर्षीय जयविर कामी, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ निवासी ३६ वर्षीया प्रर्मिला बुढा मगर, सोही गाउँपालिका वडा नं. २ निवासी २७ बर्षीय धनिराम पुन र सोही ठाउँ निवासी २७ बर्षकै सम्झना पुन मगर गम्भीर घाइते भएका छन् । उनीहरु चारै जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
५ नं. प्रदेशका प्रहरी प्रमुख एवं डिआईजी शेरबहादुर बस्नेतका अनुसार दिउँसो २ बजेतिर मध्य पहाडी सडक खण्डको धारापानी भन्ने स्थानमा लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा त्यसमा सवार ११ जना मध्य ७ जनाको मृत्यु भएको हो । दुर्घटना स्थल भन्दा केही परदेखि उक्त जीप हिडेको बाटोमा कालो मोविल खस्दै आएको देखिएको भए पनि दुर्घटनाका कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।