७ वर्षीय बलदेव चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी गाउँमाको जनकल्याण प्राथमिक विद्यालयमा कक्षा १ मा अध्यनरत छन् । बिहीबार बिहान ११ बजेतिर सेतोपाटीका संवाददाता विद्यालय पुग्दा उनी कक्षा २ मा बसेर पढिरहेका थिए। ‘कक्षामा एक्लै भएकोले कक्षा २ मा पढ्न आएँ’, बलदेवले भने।
कक्षा १ मा जम्मा ४ जना विद्यार्थी भर्ना भएका थिए। तर बिहीafर तीन जना अनुपस्थित रहे। त्यसैले बलदेवलाई कक्षामा एक्लै बस्न र पढ्न मन लागेन। शिक्षक पनि एउटै विद्यार्थीलाई पढाउन मन गर्नुहुन्न।
उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म जम्मा ३१ जना विद्यार्थी छन्। कक्षा १ मा ४, कक्षा २ मा ६, कक्षा ३ मा ८, कक्षा ४ मा ६ र कक्षा ५ मा ७ जना। बिहीबार विद्यालयमा उपस्थित विद्यार्थी २० जना थिए। कहिलेकाहीँ त कुनै कक्षा विद्यार्थीबिहीन हुन्छन्।
त्यस्तो अवस्थामा दुई तीनवटा कक्षाका विद्यार्थीलाई सँगै एउटै कक्षामा राखेर बहुकक्षा शिक्षण गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक मुक्तबहादुर वलीले बताए।
४५ मिनेटको कक्षामा आधा समयमा एउटा कक्षामा र आधा समय अर्को कक्षामा शिक्षकले पढाउने गरेका छन्। पछिल्लो समय उक्त विद्यालयमा विद्यार्थीको संख्या थोरै भएपछि उपमहानगरपालिकाले ३ शिक्षकको दरबन्दी कटौती गरेको बारे पत्राचार गरिसकेको रहेछ।
३ जना शिक्षक त्यहाँबाट कटौती गरि अन्यत्र पठाउने भएपछि विद्यालयको भविष्यबारे अन्यौंल छाएको छ। कक्षा ५ सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा तीन जना शिक्षक दरबन्दीमा र एक जना राहत कोटामा कार्यरत छन्।
वर्षेनी विद्यार्थी घटेको घट्यै
वि.सं. २०५९ सालदेखि मुक्तबहादुर वली प्रधानध्यापकका रूपमा उक्त विद्यालयमा कार्यरत छन्।
‘सुरूसुरूमा कक्षाकोठामा विद्यार्थी भरिभराउ हुन्थे। विद्यार्थी संख्या अढाई सयभन्दा बढी थियो। पछिल्ला हरेक वर्षमा विद्यार्थी घट्दै गएर अहिलेको अवस्था आयो,’ वलीले भने।
विद्यार्थी घट्नुको प्रमुख कारण वोर्डिङ भएको वलीले बताए। उनले अंग्रेजी माध्यमबाट पढाउने विश्वास दिलाउँदासमेत अभिभावकले बच्चा नपठाएको गुनासो गरे। ‘हामीले कक्षा ३ सम्म अंग्रेजीमा पढाउँदै आएका छौं। अभिभावक भेलामा हामीले त्यो कुरा विश्वास दिलाउँदा पनि अभिभावकले विश्वास गरेनन्,’ प्र.अ. वलीले भने।
उनका अनुसार सामुदायिक विद्यालयको वातावरण र पढाई जति नै राम्रो भए पनि बोर्डिङमा बच्चा पढाउनुलाई प्रतिष्ठाको रूपमा लिने प्रवृत्ति छ।
शिक्षिका सपना डाँगीका अनुसार निजी विद्यालयको चर्को प्रचारप्रसार र विद्यार्थीलाई घरबाटै आवत जावतको व्यवस्थाले विद्यार्थीको संख्या घटेको हो।
सपनाले आफ्ना बच्चा पनि स्कुलमा नपढाएर नजिकैको बोर्डिङमा भर्ना गरेकी छन्। अप्ठेरो बाटो र परिवारका अन्य सदस्यको चाहाना अनुसार बोर्डिङमै बच्चाहरू पढाउने गरेको उनले बताइन्।
‘घर परिवार र समाजमा इज्जतको लागि भए पनि मैले बोर्डिङमा बच्चा पढाएकी हुँ,’ शिक्षिका सपनाले भनिन्।
बोर्डिङको पढाइ सामाजिक प्रतिष्ठाको विषय बन्न थालेपछि अब सामुदायिक विद्यालयमा गरिबका छोराछोरी मात्र पढ्ने विद्यालयका रूपमा चिनिएको उनले बताइन्।
सरकारी स्कुलमा सुधार गर्ने हो भने उपमहानगरपालिका र वडाले विशेष पहल गर्नुपर्ने उनको धारणा छ। उपमहानगरपालिकाले अनिवार्य रूपमा सबै कर्मचारी र शिक्षकका बालवालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने कानुन बनाउन सकेमा सामुदायिक विद्यालयको घट्दो शाख जोगाउन सकिन्छ,’ उनले भनिन्।
निरपेक्ष समुदाय
जनकल्याण प्राथमिक विद्यालय र भागुराम चौधरीको घरको दुरी पर्खालले मात्रै छुट्याएको छ । तै पनि भागुरामका नाति नातिना एक घन्टा टाढाको बोर्डिङ स्कूलमा पढ्न जान्छन्।
भागुरामलाई समेत नजिकको विद्यालय छोडेर त्यति टाढाको बोर्डिङमा महंगो शुल्क तिरेर नाति नातिना पढ्न गएको चित्त बुझेको छैन। तर छोरा बुहारीसँग उनको कुनै सीप चलेन। ‘नजिकको मन्दिर हेलाको हुन्छ हजुर’, उनले सुनाए । उनी पनि बोर्डिङमा पढाएका बच्चा पढाईमा अब्बल हुन्छन् भन्ने गलत धारणा समुदायमा जरा गाडेर बसेकोमा चिन्तित छन् ।
विद्यालयको ठूलो पर्खाल र बिग्रेको गेट देखाउँदै उनले भने –“समुदायले त्यो समुदायको साझा सम्पत्ति हो भनेर मनन् नगर्नु र शिक्षकमा पनि सरकारी काम कहिले जाला घाम भन्ने प्रवृति हाबी हुनुले गर्दा विद्यालय चौपट भएको हो ।”
४८ वर्षीया रामकुमारी चौधरीले पनि विदेशमा रहेको छोराले आफ्ना छोरा छोरीलाई बोर्डिङमै पठाउन भनेपछि नजिकैको विद्यालय छोडेर त्यता पठाएको बताइन्। छोरा छोरीलाई बोर्डिङ पढाउनकै लागि छोरो विदेश गएको उनले सुनाइन्।
कक्षा ५ सम्म जनकल्याण प्राथमिक विद्यालयमा पढेका र हाल नजिकैको पशुपति मावि हरिपौरीमा अध्यनरत विण्णु वलीका अनुसार शिक्षकले राम्रोसँग नपढाईदिदा विद्यालयको भविष्य संकटमा पर्न थालेको छ । ‘शिक्षक पढाउनभन्दा गफ चुटेर समय बिताउँछन्। त्यसैले त्यहाँ सबैले छोरा छोरी पठाउनै छोडेका हुन्,’ वलीले भने।
तुलसीपुरका ३२ विद्यालयमा ५० भन्दा कम विद्यार्थी
शिक्षा शाखाको तथ्याङ्क अनुसार तुलसीपुर उपमहानगरपालिका अनतर्गत पर्ने ८२ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयमा कक्षा ५ सम्म ५० भन्दा कम विद्यार्थी छन्।
उक्त तथ्याङ्क अनुसार बालसंगिनी प्रावि घोरवन्डामा १६ जना विद्यार्थी, प्रावि थापापानी १७, प्रावि बनहरी १६, प्रावि खुमखानी १९, प्रावि फैजाने मुस्ताफा–० , प्रावि हलवार १४, प्रावि प्रिगाउँ १७, नेत्र ज्योति प्रावि भेलाही – ०, नेत्रलाल प्रावि अक्कासी १६, मालिका प्रावि सक्राम १५ (कक्षा ४ र ५ मा ०) विद्यार्थी छन्।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका उपसचिव भास्कर गौतमले उपमहानगरपालिकाले थोरै विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्ने नीति लिने निर्णय गरे पनि आफूहरू उक्त प्रक्रियामा नगएको बताए।
दुई विद्यालय मर्जरको लागि बहुमत कक्षामा ९ जना भन्दा कम विद्यार्थीको संख्या हुनुपर्ने नियम भए पनि कक्षा १ देखि ३ कक्षासम्मको विद्यार्थीलाई आधा घन्टा भन्दा बढी टाढा हिँडाउने गरी मर्ज गर्न नमिल्ने प्रावधान रहेको गौतमले जानकारी दिए।
गैतमले भेलाही प्रा.बि. र थापापानी प्राविलाई बालबिकास केन्द्रका रुपमा विकास गरिएको र ती विद्यालयवाट सबै शिक्षक अन्यत्र स्थान्तरण गरिएको जानकारी समेत दिए ।