हातपात र दुर्व्यवहारको प्रयास गरेको भन्दै महिलाहरूले दाङका एक जना वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगी(श्याम)काविरुद्ध स्थानीय महिलाहरू ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको जस्पुर चौकीका प्रमुख नयाँराम कार्कीले जानकारी दिए।
जाहेरीमा दुबै जना महिलाले शनिबार बेलुका वडा अध्यक्ष डाँगीले आफूहरूमाथि हातपात गरेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन्। दुबै जना महिलाले आइतबार जस्पुर प्रहरी चौकीमा मदिराले मातेका वडा अध्यक्षले आफूहरूमाथि झम्टिन आएको तथा हातपातको प्रयास गरेको हुँदा न्यायका लागि प्रहरीमा जाहेरी दिएको बताएका थिए।
दुई जना महिलाले वडा अध्यक्षकाविरुद्ध जाहेरी दिएपछि प्रहरीले आइतबार वडा अध्यक्ष डाँगीलाई झिकाएर उनीहरूका बीचमा छलफल गरेको छ। छलफलका क्रममा महिलाहरूले वडा अध्यक्षले हातपात गरेको दोषारोपन गरेका थिए भने वडा अध्यक्ष डाँगीलगायत उनका समर्थकहरूले त्यसको बचाउ गरेका थिए। त्यही बीचमा केहीबेर जस्पुर प्रहरी चौकीमा तनावपूर्ण वातावरण सृजना भएको थियो। वडा अध्यक्ष डाँगीले षडयन्त्रपूर्वक आफूलाई फसाउन खोजेको बताएका छन्।
विवादको कारण छाडा वस्तु चौपाया
वडा अध्यक्ष र स्थानीय महिलाहरूका बीचको विवादको मुख्य कारण भने छाडा पशु चौपाया (गाई)ले गर्दा उत्पन्न भएको हो। शनिबार बेलुका साढे ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ क्षेत्रबाट विन्दु बुढाथोकी, मिना वली लगायत १४ जना गाउँले मिलेर छाडा गाई तुलसीपुर बजारतर्फ लैजाँदै थिए। छाडा चौपायाले मकै लगायत धानबाली नष्ट पारिदिएपछि उनीहरूले ती गाईलाई धपाउँदै बजारसम्म पुर्याउन खोज्दै गर्दा विवाद उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ।
बजारतर्फबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका वडा अध्यक्ष सूर्यप्रसाद डाँगी(श्याम)ले गाई धपाउँदै लैजाँदै गरेको देखेपछि रोक्न खोज्दा विवाद उत्पन्न भएको प्रहरीले बताएको छ। वडा अध्यक्षले बजारमा गाई लैजान नदिने अडान लिनु र स्थानीय महिलाहरूले गाई बजार लैजाने अडान लिएपछि विवाद उत्पन्न भएको थियो।
‘हामीलाई मदिराले मातेका वडा अध्यक्षले झम्टिन आउनु भयो, मलाई चिन्छौ भन्दै हातखुट्टा भाँच्ने धम्की दिनुभयो,’ विन्दु बुढाथोकीले भनिन्। उनले अध्यक्षले आफूहरूलाई दुर्व्यवहार गरेको हुँदा न्याय दिन माग गरिन्।