तीन जना बालिकालाई बलात्कार गरेको अभियोगका एक जना वृद्धलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ।
घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ८२ वर्षीय रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलबार बालिका करणीमा दोषी ठहर गर्दै पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
अदालतले खत्रीलाई एकै घरका तीन जना दिदीबहिनीलाई विभिन्न प्रलोभन देखाएर करण गरेको ठहर गरेको छ । दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले खत्रीले तीन दिदीबहिनी बालिकालाई चकलेट, मिठाई खान दिने प्रलोभनमा पारेर बलात्कार गर्दै आएको खुल्न खाएको जानकारी दिइन्।
बालिकाका अभिभावक काममा बाहिर गएको समयमा उनीहरूलाई टिभी हेर्न आफ्नो घरमा बोलाएर खत्रीले प्रलोभनमा पार्दै गत वैशाख ८ गतेदेखि असार २४ गते दिउँसोसम्म बलात्कार गरेको खुल्न आएको एसपी सिंहले बताइन्।
८२ वर्षीय खत्रीले ४, ७ र ११ वर्षीया तीन जना छिमेकी बालिकालाई विभिन्न प्रलोभनमा पारेर जबरजस्ती बलात्कार गरेको एसपी सिंहले जानकारी दिइन्।
एसपी सिंहका अनुसार पछिल्लो पटक असार २४ गते दिउँसो ४ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनले गुप्ताङ्ग लगाएत पेटमा भएको पीडाबारे आमालाई बताएपछि आमाले ४ वर्षीया छोरीको गुप्ताङ्ग हेर्दा खत्रीको कर्तुत सार्वजनिक भएको थियो ।
‘यस्तो कसले गर्यो, भनि आमाले छोरीलाई सोध्दा बाजेले भन्ने उत्तर पाएपछि बल्ल खत्रीले गर्दै आएको अत्याचार खुलेको देखिन्छ, ’ एसपी सिंहले भनिन्।
ती बालिकाकी आमाले दिएको जानकारी अनुसार कान्छी ४ वर्षीया छोरीको बलात्कार भएको खुल्न आएपछि अन्य ७ वर्षीया र ११ वर्षीया छोरीले पनि आफूहरूलाई बाजेले पटक/ पटक चकलेट, मिठाई दिँदै त्यस्तै गर्दै आएको भन्ने कुरा गरेपछि बालिकाका अभिभावक खत्री विरुद्ध उजुरी दिन आएको एसपी सिंहले बताइन्।
‘कहिले टिभी हेर्न दिने र कहिले चकलेट, मिठाई दिने प्रलोभनमा पारेर एकै परिवारका तीन दिदीबहिनीलाई ८२ वर्षीय खत्रीले बलात्कार गर्दै आएको अनुसन्धान बाट खुल्न आएको छ,’ एसपी सिंहले भनिन्।
पत्नीविहीन कोठामा एक्लै बस्दै आएका ८२ वर्षीय रामु खत्रीले तीन वटै बालिकामाथि अत्याचार गर्दै आएको तथ्य पुष्टि भएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको एसपी सिंहले बताइन्।