दाङका विद्यार्थी संगठनहरूले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी अन्तरगतका कार्यालयहरू दाङबाटै सञ्चालन गर्न माग गरेका छन्।
विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा रहेता पनि विश्वविद्यालय अन्तरगतका अनुसन्धान केन्द्र र राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र हाल काठमडौंबाट सञ्चालन भइरहेको भन्दै ती कार्यालय दाङबाटै सञ्चालन गर्न माग विद्यार्थी संगठनहरूले गरेका हुन्।
नेकपा निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ अनेरास्ववियु (क्रान्तिकारी) र अखिल क्रान्तिकारी विप्लव निकटका विद्यार्थी संगठनले शनिबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित बेलझुण्डीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगेर विद्यार्थी संगठनका जिल्ला पदाधिकारीहरूले प्रा.डा. कोइरालालाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालय अन्तरगतका अनुसन्धान केन्द्र र राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र दाङबाटै सञ्चालन गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिए।
नेविसंघका कार्यबहाक सभापति टोप बहादुर बुढाथोकीले जहाँ केन्द्रीय कार्यालय रहन्छन् उक्त संस्थाका अनुसन्धान केन्द्र पनि त्यही स्थापना गरिनु सान्दर्भिक हुने तर्क गरे।
ज्ञापनपत्र बुझाउन अखिल क्रान्तिकारी दाङका अध्यक्ष जंग रोका, विप्लव निकट अखिल क्रान्तिकारी प्रितिमा चौधरीले गएका थिए। विद्यार्थी संगठनका जिल्ला नेताहरूले आफूहरूको माग सम्बोधन गर्न विश्व विद्यालय प्रशासन तत्पर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।