केही दिन देखिको लगातारको वर्षाका कारण स्थानीय खोलाहरूमा आएको बाढीले तुलसीपुर–लमही सडकखण्ड अवरुद्ध भएको छ।
तुलसीपुर–घोराही–लमही सडकखण्डमा पर्ने विभिन्न खहरे खोलाहरूमा आएको बाढीले यातायातका साधन सञ्चालनमा आउन नसकेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।
घोराही –लमही सडक खण्डको बबई, कटुवा खोलामा आएको बाढीले यातायात ठप्प भएको छ भने घोराही–तुलसीपुर सडकखण्डको सेवार, गुर्जे, गुहार लगायतका खोलामा आएको बाढीले यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन्।
आइतबार बिहानसम्म साना सवारी साधन सञ्चालनमा आउन नसकेको भए पनि ठूला सवारी साधन भने सञ्चालनमा आएका थिए। तर पानी लगातार परिरहेको हुँदा आइतबार दिउँसोदेखि तुलसीपुर– घोराही – लमही सडकखण्डमा यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ।
उक्त सडकखण्डमा आधा दर्जन पुलहरू निर्माणको काम भइरहेका छन्। तर पुल निर्माण गरिरहेका कम्पनीहरूले समयमै उपयुक्त डाइभर्सन बनाउन चासो नदिँदा यो सडकखण्डमा सवारी चलाउन कठिन हुने गरेको छ।
निर्माणाधीन पुलको काम सम्झौता अनुसार समयमै निर्माण नहुँदा बाढीमा सवारी चलाउन असम्भव जस्तै बन्दै आएको छ। पुल निर्माणाधीन स्थानमा जोखिम बढेपछि प्रहरीलाई खटाइएको छ। ठूलो खोला आएका स्थानमा प्रहरी खटेर भेलामा गाडी चलाउन प्रतिबन्ध लगाएको छ। यसैबीच पहिरोको कारण बिहानैदेखि अवरुद्ध राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडकखण्ड दिउँसोदेखि सञ्चालनमा आएको छ।
दाङको तुलसीपुर र सल्यान कपुरकोट तथा सल्यानको त्रिवेणी क्षेत्रमा झरेको पहिरो पञ्छाएर सडकखण्ड सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।