दाङमा खोलाले गुडिरहेको बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन्। घाइते मध्य ५ जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल (गर्भवती), दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३८ बर्षीया होमा देवकोटा र उनका पति ४० बर्षीय द्रोर्ण देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।
त्यस्तै अन्य घाइतेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बसन्तपुर निवासी १९ वर्षीय मिनबहादुर ओली, रुकुमको धर्मशाला गाउँपालिका निवासी ६५ वर्षीय पूर्ण रोका, दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ३५ बर्षीय खलकुमारी बस्नेत, उनका पति ३२ वर्षीय कर्णबहादुर यरी, दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २२ बर्षीय विजय बुढा, सोही ठाउँकै ५१ वर्षीया ज्योती बुढा, कैलाली जिल्लाको लम्कीचुवा गाउँपालिका वडा नं. ४ निवासी १८ बर्षीय सुवाश चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५० वर्षीया विमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३८ वर्षीया दुर्पता परियार, सोही ठाउँकै २८ बर्षीया लक्ष्मी परियार, गाडीका चालक कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा नं. ३ निवासी ५१ बर्षीय पूर्णानन्द भण्डारी र नाम नखुलेका सह–चालक रहेको राप्ती अञ्चल अस्पतालकले जानकारी दिएको छ ।
गम्भीर घाईते ५ जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
अन्य घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। कतिपय डिस्चार्ज भइ घर गइसकेका छन् ।
धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै ना ४ ख ८१३६ नम्बरको बस आइतबार साँझ ६:१० मा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित ग्वारखोलाको बाढीले बगाउँदा उक्त दुर्घटना भएको थियो।
घटनास्थलमै रहेकी दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले भने दुर्घटनामा परि १९ जना घाइते भएको जानकारी दिइन्। दुई जनाको अवस्था सामान्य रहेको हुँदा घटनास्थलबाटै घर तर्फ लागेको उनले बताइन्। अविरल वर्षापछि जिल्लाका खहरे खोलामा बाढी आएपछि खोलाहरुमा प्रहरी परिचालन गरेर बाढीमा गाडी नहाल्न आग्रह गर्दागर्दै पनि अटेर गरेर बाढीमा गाडी हालेको हुँदा आँखै अगाडि गाडी बगेको एसपी सिंहले बताइन्। ‘म पनि तुलसीपुरबाट घोराहीतर्फ जाँदै थिएँ। बाढीले गर्दा ग्वारखोलामै थिएँ। तर, घोराहीबाट आउँदै गरेको गाडी मेरै अगाडि ग्वारखोलाले बगायो,’ एसपी सिंहले भनिन्, ‘तत्कालै मैले प्रहरीलाई उद्धारमा खटाए र स्थानीयले पनि सहयोग गरे। समयमै स्थानीय र प्रहरीको उद्धारले गर्दा एउटा ठूलो दुर्घटना टरेको छ।’
गाडीमा भड्क्क केही लाग्यो र गाडी बग्यो – चालक भण्डारी
गाडीका चालक कैलाली धनगडी उपमहानगरपालिका ३ का ५१ वर्षीय पूर्णानन्द भण्डारीले गाडीको अगाडिको टायरमा केही बस्तु आएर ठोक्किएपछि गाडी बगेको बताएका छन्। ‘टायरमा ढुङ्गा हो वा काठ हो आएर ठोक्कियो, त्यसपछि पछाडिको भाग कोल्टो भयो र गाडी बग्यो,’ चालक भण्डारीले सेतोपाटीसँग भने।
त्यत्रो खोला देख्दा देख्दै किन बाढीमा गाडी हालेको भन्ने प्रश्नमा उनले भने, ‘अरुले पनि हालेको हुँदा आफू पनि तार्न सक्छु भनेर हालेको बताए। ‘मैले विगत दुई वर्षदेखि यहाँ नियमित गाडी चलाउँदै आएको छु। खै आज के दैव लाग्यो,’ उनले भने।
चालक भण्डारीले नै गाडी बगेपछि सिसा फोडेर अधिकांश यात्रुको उद्धार गरेको बताए। ‘चार पाँच जनालाई त मैले नै बचाए नत्र उनीहरू मर्थे,’ भण्डारीले भने ।
जो आँफै घाइते भएर अरुको उद्धार गरे
तुलसीपुर–घोराही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को ग्वारखोलाको बाढी हेर्न आएका स्थानीय १९ वर्षीय युवा मिनबहादुर ओलीको आँखै अगाडि गाडी बग्यो।
बस भित्रका यात्रु रूवावासी गर्न थाले। त्यो दृष्य किनारबाट देखिरहेका सयौं सर्वसाधारण थिए। तर पनि बाढीमा जाने आँट कसैले गरेको थिएन। त्यहाँ तैनाथ प्रहरी र अन्य सबै के गर्ने नगर्ने भन्दै गर्दा वली सबैभन्दा पहिला दौडिएर उद्धारमा खटिए। उनी दौडिएपछि अरू पनि चारैतिरवाट उद्धारका लागि पुगे।
सबैभन्दा पहिला उद्धारमा पुगेका ओलीको खुट्टा काटेर गहिरो घाउ लागेको छ। तर पनि उनले त्यसको प्रवाह नगरी चार जनाको ज्यान जोगाए। ‘म नगइदिएको भए तीन जना सायद बाँच्दैन थिए। बेहोस बग्दै गरेका दुई जना र बसमा अड्किएका एक जनालाई मैले नै बचाए,’ ओलीले भने।
उनले एक जना महिलाले आफूलाई भन्दा बग्दै गरेका आफ्ना पतिलाई बचाउन याचना गरेको बताए। ‘म मरे केही हुँदैन, मेरो श्रीमानलाई जसरी पनि बचाउनुहोस,’ बाढीमा बग्दै गरेकी एक महिलाले भनेको कुरा स्मरण गर्दै ओलीले भने।
उनका पतिको हात भाँचिएको र अचेत अवस्थामा बाढीले बगाउँदै गरेको देखेपछि त्यसपछि आफूले ती व्यक्तिको उद्धार गरको उनले बताए।
गाडी दुर्घटनामा परेकी तुलसीपुर ५ निवासी लक्ष्मी परियारले गाडी बाढीले बगाउँदा बाचौला भन्ने नलागेको भए पनि स्थानीय र प्रहरीले समयमै उद्धार गरेको हुँदा बाँचेको बताइन्। ‘मैले त रामराम मात्रै पुकारेँ। घर परिवार र बच्चाको याद आयो। भाग्यले बाचेँ अब बाढीको सयममा कहिलै यात्रा गर्दिनँ,’ परियारले सेतोपाटीसँग भनिन्।
ग्वारखोलाको बाढीले दुबै तर्फ रोकिएका सयौं सर्वसाधारण र सुरक्षाको लागि खटिएका प्रहरीले समयमै उद्धार गर्दा ठूलो अनिष्ट टरेको घटनास्थलमै रहेकी दाङ जिल्ला प्रमुख एसपी दुर्गा सिंहले बताइन्।
दाङको तुलसीपुर–घोराही–लमही सडक खण्डमा मात्रै एक दर्जन बढी खहरे खोलाहरू पर्छन्। र ती खोलामा पानी मुनीका कचवे विस्थापित गर्न झन्डै आधा दर्जन बढी खोलाहरुमा पुल निर्माण गरिँदैछन्। तर, निर्माण पुरा हुनुपर्ने अवधी यसअघि नै गुजारिसकेको छन्।
पुल निर्माणको काम अझैं ५० प्रतिशत बाँकी छ। जस्ले गर्दा हरेक साल वर्षामा यहाँ यस्तै बाढीको जोखिममा भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता छ।
कचवेका कारण बर्षनी धेरै सवारी दुर्घटनामा मृत्युदेखि धेरै अंगभंग हुने गरेका छन्। समयमै काम सम्पन्न गर्न निरन्तर अधिकारकर्मी र समाचारको माध्यबाट पत्रकारले खवरदारी गर्दा पनि त्यसको कसैले वास्ता नगर्दा यस्तो समस्या निम्तने गरेको जानकारहरु बताउँछन्।
हेर्नुहोस् दुर्घटनाका केही तस्बिरहरू