झारफुक गर्ने बहानामा महिलामाथि मन्दिर (कुटी) भित्रै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ सर्रा निवासी ५५ वर्षीय प्रेम विकले झारफुक गरिदिने बहानामा एकजना महिलालाई मन्दिर (कुटी) मा बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
हातखुट्टा दुख्ने समस्या भएकी एक जना स्थानीय ४० वर्षीया महिलालाई एकान्तस्थल खोला किनारमा निर्मित (कुटी) मन्दिरमा बोलाएर जबरजस्ती बलात्कार गरेको अभियोगमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक निर्मल खत्रीले जानकारी दिए।
पीडित महिलाले साउन १६ गते विकले झारफुक पछि रोग सञ्चो पारीदिने बहानामा जबरजस्ती गरेको भन्ने जाहेरी दिएपछि आरोपित विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका विक विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्ती करणी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरू गरेको खत्रीले जानकारी दिएका छन् ।