कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई दाङ प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।
रुकुम जिल्लाको उत्तरगंगा गाउँपालिका वडा नं.१२ निवासी ४२ वर्षीय गोकर्ण गुरुङमाथि सात वर्षपघि दाङको घोराहीमा व्यक्ति हत्याको आरोप लागेदेखि उनी फरार रहँदै आएका थिए।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० अम्राई भन्ने स्थानमा २०६८ साल असार २९ गते रुकुमका टेकबहादुर घर्तीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग गुरुङलाई लागेको छ।
जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार रुकुमको साविक पोखरा गाविस वडा नं. ६ निवासी ३६ वर्षीया टेकबहादुर घर्तीको हत्यापछि उनी फरारको सूचीमा थिए।
तर साउन १७ गते गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा कास्की पोखरामा लुकिछिपी बस्दै आएको पाइएपछि पक्राउ गर्न सफल भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। अभियुक्त गुरुङका विरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ।