स्थानीय खोलाहरुमा आएको बाढीले गर्दा तुलसीपुर–लमही सडक खण्डमा यातायात सेवा ठप्प भएको छ । केहीदिन देखिको अविरल वर्षाका कारण तुलसीपुर–घोराही र घोराही–लमही सडक खण्डको यातायात सेवा सोमवार विहानैदेखि अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले बबईमा आएको बाढीले घोराही–लमही सडक खण्डमा विहानैदेखि यातायातका साधन संचालन हुन नसकेको बताए । त्यस्तै तुलसीपुर–घोराही सडक खण्ड अन्तरगतको गुर्जे खोलामा आएको बाढीले उक्त सडक खण्डपनि अवरुद्ध बनेको छ ।
तुलसीपुर–घोराही सडक खण्डको बीचमा पर्ने ग्वारखोला, हापुरखोल ,पत्रे फाल्ने खोला लगाएतका खहरे खोलाहरुमा आएको बाढीले गर्दा यातायातका साधन संचालन आउन नसकेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर हुँदै लमहीसम्म झन्डै एक दर्जन बढी खहरे खोलाहरु रहेका छन् । ती खोलाहरुमा कचवे निर्माण गरिएको छ ।
उक्त सडक खण्डको झन्डै आधा दर्जन खोलाहरुमा पक्की पुल निर्माणको काम भइरहेको छ । तर पुल निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले निर्माण गर्ने समयावधि यसअघि नै गुजारी सकेका छन् । पुल निर्माणको काम भने हालसम्म आधापनि पुरा भएको छैन । त्यसले गर्दा पुल निर्माणाधिन क्षेत्रमा बाढीको समयमा सवारी चलाउन झनै जोखिम थपिएको छ ।
समयमै उपयुक्त डाइभर्सन अर्थात वैकिल्पिक मार्ग बनाउन ध्यान नदिनुले गर्दा तुलसीपुर–लमही सडक खण्डमा खोलाको अवस्था सामान्य हुँदा समेत यात्रा गर्न जोखिम बढेको सर्वसाधारणहरुको गुनासो छ।
यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सार्वजनिक अपिल जारी गर्दै राप्ती नदी, बबई नदी र खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन भनेका छन् । उनले तुलसीपुर–घोराही हुँदै लमही सडक खण्डमा साना सवारी साधानमा र एक्लै सकभर यात्रा नगर्ने आग्रह गर्दै अति आवश्यक काम परेमा सार्वजनिक तथा ठूला सवारी साधनमा यात्रा गर्न सबैमा आग्रह गरेका छन् । नदी र खोलामा पानीको सतह बढ्दै गएको तथा बहाव तेज बन्दै गएको समयमा आफु तथा आसपासका अन्य मानिसलाई पनि सुरक्षित रहनका लागि सघाउन आग्रह गरिएको प्रजिअ श्रेष्ठले बताए ।
यसैबीच जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङले विहान ८ः४५ बजे जिल्लामा ४९.२ मिलिमिटर बर्षा भएको तथ्याङ्क रहेको जानकारी दिएको छ । आइतवार दाङमा ६७.६ मिलिमिटर बर्षा भएको थियो ।