नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको एक दिने बन्दका कारण दाङको जनजीवन मंगलबार बिहानैदेखि प्रभावित भएको छ।
बन्दका कारण जिल्लामा बिहानैदेखि सार्वजनिक यातायात, बजार, कलकारखाना, शिक्षण संस्था सबै ठप्प बन्न पुगेका छन्।
अटो रिक्सालगायत साना सवारी साधन भने फाट्टफुट्ट चलिरहेका छन्। बन्दको फाइदा उठाउँदै अटो रिक्सा चालकले चर्को शुल्क असुल्ने गरेको कतिपय यात्रुहरूले गुनासो गरेका छन्।
बजारमा बन्दकर्ता भने देखिएका छैनन्। तर, बजारका चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाको लागि खटाइएको दाङ जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माको पक्राउ विरोधमा सो पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको छ। प्रकाण्डलगायतका नेता कार्यकर्ताको विनासर्त रिहाइको माग गर्दै ‘नेपाल बन्द’ गर्नु परेको दाङ जिल्ला सेक्रेटरी सविनले जानकारी दिए ।