दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
कारको ठक्करबाट मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका ७ सिसहनियाँ निवासी ४९ वर्षीय धनबहादुर सुवेदी र सोही ठाउँ निवासी ५० वर्षीय विष्णुबहादुर जिसीको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए। गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा शनिबार अपरान्ह बुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमही–भालुवाङ सडकखण्डको नर्तीमा शनिबार अपरान्हमा भारतीय नम्बर प्लेटको यूके १४१५ नम्बरको कारले लमहीबाट भालुवाङतर्फ जाँदै गरेको रा १ प ५८८३ नम्बरको मोटरसाइकललाई नर्ती भन्ने स्थानमा ठक्कर दिएको थियो। गम्भीर घाइते दुवै जनालाई लमही अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको थियो।
घाइते दुवै जनाको बुटवलमै उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ। यसैबीच कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।