जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक विदाको दिनमा पनि सरकारी सेवा सुरू गरेको छ।
व्यस्त दैनिकी भएका, जागिरे तथा देशविदेशमा रहेका व्यक्तिहरूलाई लक्षित गरी भदौ २ गतेदेखि कार्यालयले सार्वजनिक विदाको दिनमा पनि सरकारी सेवा सुरू गरेको हो।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी सपना बैजाली मगर जिल्ला प्रशासन कार्यालय दाङले सुरू गरेको शनिबारको सेवा पाउने पहिलो सेवाग्राही हुन्।
विगत तीन दिनदेखि नागरिकता बनाउन प्रयासरत मगरले कागजी प्रक्रिया नमिल्दा शुक्रबारसम्म नागरिकता बनाउन सकेकी थिइनन्। नागरिकता बनाउन पतिको नागरिकता र पतिको उपस्थिति आवश्यक पर्छ।
शुक्रबार नागरिकता नबनेपछि उनलाई आइतबार नै कुर्नुपर्छ भन्ने लागेको थियो। तर, उनलाई प्रशासन कै कर्मचारीले ‘कागज मिलाएर शनिबार आउनू होला नागरिकता पाउनुहुन्छ’ भन्ने जानकारी दिए। कर्मचारीबाट शनिबार पनि काम हुन्छ भन्ने सूचना पाएपछि मगर शनिबार पतिसँगै कार्यालय पुगिन् र त्यसको केहीबेरमै नागरिकता प्राप्त गरिन्।
‘परिवारसँगै भारतमा बस्दै आएकी थिएँ र हालसम्म नागरिकता बनाएकी थिइनँ,’मगरले भनिन् ‘तर अब स्वदेशमै आएका छौं र नागरिकता आवश्यकता पर्न थाल्यो।’
नागरिकता नहुँदा सरकारी काम गर्न तथा ऋण कर्जा पाउन नसकेको उनले सुनाइन्।
मगर मात्रै हैन, शनिबार नै घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुन डाँडा निवासी आशिष भट्टले पनि नागरिकता बनाए।
उनले शनिबारको सेवा छिटो छरितो रहेको अनुभूति साटे।
‘सरकारी कार्यालयमा काम गराउन अरु दिन निकै सास्ती हुने गरेको भए पनि शनिबार भने केहीबेरमै नागरिकता प्राप्त गरें,’ भट्टले भने।
मगर र भट्ट जस्तै शनिबार जिल्ला प्रशासन कार्यालयबाट आधा दर्जन जतिले सेवा प्राप्त गरेका छन्। पहिलो दिन आधा दर्जन बढीले सेवा लिएका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सेतोपाटीलाई बताए।
व्यस्त दैनिकी भएका व्यक्ति र देश विदेशबाट चाडपर्वमा घर फर्किने व्यक्तिहरूको सुविधाको लागि शनिबार पनि सेवा दिन थालिएको प्रजिअ श्रेष्ठले बताए।
उनले भदौको पहिलो शनिबारदेखि अब हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण सेवा दिन थालिएको जानकारी दिए ।
दीर्घकालीन होला ?
यसैबीच जिल्ला प्रशासन कार्यालयले शनिबार सेवा दिन थालेपछि दूरदराजबाट आउने सेवाग्राहीलाई सहजता हुने धारणा जिल्ला समन्वय समिति दाङका सदस्य जक्तबहादुर बस्नेतको छ।
जिल्ला प्रशासनमा स्वयम् सेवकका रूपमा कर्मचारी खटाएर शनिबार समेत सेवा प्रवाह गर्न खोजिएको छ । त्यसैले त्यो कत्तिको दीर्घकालीन हुन सक्छ भन्नेमा कतिपले आशंका व्यक्त गरेका छन् । किनकी, यसअघि यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले बिहानी र दिउँसोमा गरी दुई सिफ्टमा सेवा सञ्चालन गरेको भए पनि त्यसले तीन महिनाभन्दा बढी निरन्तरता पाउन सकेको थिएन।
शनिबारको सेवा लिन सुरू सुरूमा केही सेवाग्राही आएको भए पनि पछि एउटा पनि सेवा ग्राही नआउँदा शनिवारको सेवा बन्द गर्नु परेको थियो। बिहान ७ देखि र १० बजेसम्म र त्यसपछि अफिस समयमा गरी दुई पटक सेवा दिन खोजेको भए पनि बिहानीको सेवामा कोही पनि सेवा ग्राही नआएको हुँदा बन्द गर्नु परेको एकजना कर्मचारीले जानकारी दिए।