दाङमा ठूलो परिमाणमा लागूऔषध चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। ६० किलो चरेससहित पक्राउ परेका पाँच जनालाई प्रहरी आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले ६० किलो चरेस सहित ३ जना पुरष र २ जना महिलालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नं. ११ निवासी ४५ वर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्मा गाँउपालिका ५ निवासी ३५ वर्षीय डिल्लीराज चन्द, रुकुम पुर्थाउत्तरगंगा गाँउपालिका वडा नं. १ निवासी ३० वर्षीय रुमा घर्ती, रुकुम भुमे गाउँपालिका वडा नं. २ निवासी २७ वर्षीया सपना पुन र सोही ठाउँ निवासी धुव्रजंग बुढा छन्।
पक्राउ परेका मध्ये धुव्रजंग बुढा र सपना पुन पति पत्नी रहेको एसपी शर्माले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। दाङमा एकै साथ यति ठूलो परिमाणमा लागूऔषध चरेस बरामद भएको पहिलो पटक हो।
यसअघि पटक/पटक प्रहरीले प्रतिवन्धित लागूऔषधसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको भए पनि यति ठूलो परिमाण भने कहिलै पक्राउ परेका थिएन।
एससी शर्माका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा दाङ देउखुरी क्षेत्रको लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया जंगल क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले गत शुक्रवार मात्रै १० किलो चरेस सहित २ जनालाई सोही स्थानबाट पक्राउ गरेको थियो।
पक्राउ परेकामाथि गरिएको थप अनुसन्धानले सोही स्थानबाट थप ५० किलो चरेश समेत गरि कुल ६० किलो चरेससहित पाँच जना पक्राउ परेको एसपी शर्माले बताए।
यसैबीच एसपी शर्माले पक्राउ परेका मध्य दुई जना कारोबारी रहेको र अन्य तीन जना भने भरिया रहेको भन्ने खुल्न आएको भए पनि अनुसन्धान जारी रहेको सेतोपाटीलाई जानकारी दिए।
उनले पक्राउ परेकाहरुका विरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरेर कारवाहीको पक्रिया सुरु गएिको बताएका छन्।