दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ४५ वर्षीय जोगिलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विवेश शाहले जानकारी दिए।
अमर माध्यमिक विद्यालय उरहरीका कार्यालय सहयोगी चौधरीलाई उक्त विद्यालयको विद्यार्थी भर्नासम्बन्धी सूचना दिन उरहरी चोकमा ब्यानर टाँग्न गएको समयमा सोमबार बिहान सवा ११ बजेतिर करेन्ट लागेको थियो। उरहरी चोकमा पशु विज्ञानमा खोलिएको विद्यार्थी भर्नासम्बन्धी विज्ञापनको ब्यानर टांग्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ।
करेन्ट लागेर गम्भीर घाइते चौधरीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर पुर्याए लगत्तै अस्पताले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। चौधरीले २०३८ सालदेखि उक्त विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।