बाल विकास शिक्षक सञ्जालले सोमबार राप्ती गाउँपालिकाको कार्यालयमा दुई घण्टा धर्ना दिएका छन्।
सञ्जालको राष्ट्रिय कार्यक्रम अनुसार आठ बुँदे माग राख्दै शिक्षकले धर्ना दिएका हुन्।
पूर्व प्राथमिक शिक्षकहरूको राष्ट्रिय आन्दोलन अनुसार स्थानीय सरकारको कार्यालय अगाडि शान्तिपूर्वक धर्ना दिइएको राप्ती गाउँपालिका बाल विकास शिक्षक सञ्जालकी अध्यक्ष चन्द्रा अधिकारीले जानकारी दिइन्।
गाउँपालिकामा रहेका ४१ जना बाल विकास शिक्षकहरूले स्थानीय, प्रदेश र केन्द्रमा निर्माण गरिने शिक्षा ऐनमा बाल विकास केन्द्रलाई शिक्षा नियमावलीको ८ औं र ९ औं संशोधनबाट आधारभूत तहको संरचनामा समावेश गरी दरबन्दी कायम गर्नुपर्ने, प्रारम्भिक बालविकासका केन्द्रमा कार्यरत शिक्षकहरूलाई सामान्य प्रक्रियाबाट दरबन्दीमा समायोजन गरिनुपर्ने, प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको सेवा, सर्त र सुविधा आधारभूत (प्रा.वि) शिक्षक सरह कायम गरिनुपर्ने, बालमैत्री कक्षाकोठा बनाइनुपर्ने, शिक्षकहरूलाई प्रविधियुक्त तालिमको व्यवस्था गरिनुपर्ने, शिक्षकलाई अवकास दिने कार्य बन्द गर्नुपर्ने लगायतका मागसहितको ज्ञापन पत्र बुझाएका छन्।
सञ्जालले बुझाएको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले माग सम्बोधन गर्नका लागि आफू तयार रहेको भन्दै प्रदेश र केन्द्रले सम्बोधन गर्ने मागलाई सम्बन्धित निकायमा पत्राचार गर्ने आश्वासन दिएका छन् ।
शनिबार पनि कार्यालय खुल्ने
राप्ती गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय शनिबार पनि खुल्ने भएको छ।
सेवाग्राहीहरूको सहजताका लागि भदौ १६ गतेदेखि वडा कार्यालयले शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खोलेर सेवा दिने तयारी गरेको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय दाङले पनि भदौ महिनादेखि शनिबार पनि सेवा दिन थालेको छ।