करेन्ट लागेर मृत्यु भएका तुलसीपुर ११ का जोगीलाल चौधरीका परिवारलाई विद्यालयले ५ लाख राहत दिने निर्णय गरेको छ।
अमर मावि उरहरीमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय चौधरीको सोमबार विद्यालयको विद्यार्थी भर्नासम्बन्धी सूचना टांग्दै गर्दा करेन्ट लागेर मृत्यु भएको थियो।
विद्यालयको कामकै सिलसिलामा चौधरीको मृत्यु भएको हुँदा उनका परिवारलाई राहत स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।
विद्यालय प्रशासनले मृतकका परिवारका सदस्य एक जनालाई रोजगार दिने निर्णय समेत गरेको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिए।
चौधरीको मृत्युको शोकमा मंगलबार विद्यालय बन्द गरिएको थियो भने श्रद्धाञ्जली सभा पनि गरिएको छ। चौधरी २०३८ सालदेखि उक्त विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।