व्यक्ति हत्याका एक जना अभियुक्तलाई दाङ प्रहरीले सात वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ।
राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३७ वर्षीय किरण भनिने कुमवीर बूढालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो।
बूढामाथि घोराही उपमहानगरपालिका १० दक्षिण अम्राइका ३६ वर्षीय टेकबहादुर घर्तीको २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।
हत्या गरिएका घर्ती रुकुम जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ४ का स्थायी बासिन्दा हुन्। तत्कालीन समय उनी घोराही १० को दक्षिण अम्राइ भन्ने स्थानमा माछा पालनदेखि अल्लो धागो लगायतको व्यवसाय गर्दै आएका थिए।
घर्ती हत्याको अभियोग खेपेका बूढा तत्कालीन समयमा घोराही १० को दक्षिण अम्राइमा नै बसोबास गर्दथे। तर, बूढा हाल लुकिछिपी भालुवाङमा बस्दै आएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
त्यतिबेला घर्ती र बूढाको संयुक्त लगानीमा दक्षिण अम्राइमा माछा पालन तथा अल्लो धागोको व्यवसाय थियो। त्यसैक्रममा तीनलाख रुपैयाँको हिसाब स्पष्ट नभएको आरोपमा बूढाले घर्तीको हत्या गरेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले जानकारी दिएका छन्।
तर, जिल्ला प्रहरी कार्यालय दाङमा भने गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परेको थियो। प्रहरी अनुसन्धानबाट गुरुङ निर्दोष देखिन आएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो।
उक्त हत्याकाण्ड अनुसन्धान गर्नको लागि प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डको टोलीले हत्या अभियुक्त बूढा बाग्लुङमा लुकिछिपी बसेको भन्ने पत्ता लगाउन सफल भयो।
मंगलबार मात्रै बाग्लुङको ढोरपाटन नगरपालिका ९ बाट बूढालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। घर्तीको हत्या लगत्तै फरारको सूचीमा रहेका बूढाले ढोरपाटन भन्ने स्थानमा आलु खेती गर्दै आएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
बूढालाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको एसपी शर्माले जानकारी दिएका छन् ।