प्युठानमा स्थानीय प्रशासनले मदिरा सेवन गरी सार्वजनिक यातायातमा यात्रा गर्न नपाइने नियम लागू गरेको छ।
उल्लेखित नियमविपरीतका गतिविधि गर्नेलाई एक हजार जरिवाना गर्ने नियम लागू गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिए ।
यस्तै, प्रशासनले रातको साढे आठ बजेपछि होटल खोल्न नपाउने नियम बनाएको छ। उक्त समयपछि जिल्लामा मदिरा बेचबिखन, ओसारपसार र सेवन गर्न समेत नपाइने भएको छ।
प्रवक्ता चौधरीले १८ वर्ष उमेर नपुगेका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलालाई मदिरा विक्री वितरण गर्न नपाउने नियम पनि लागू गरिएको सेतोपाटीलाई बताए।
गत भदौ १० गते प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसको सर्वदलीय/सर्वपक्षीय बैठकले शान्ति सुरक्षालाई मध्य नजर गर्दै साढे आठ बजेपछि होटल खोल्न तथा मदिराको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार जिल्लामा प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रण अभियान नै चलाएको जानकारी दिएको छ ।
थोक विक्रेताले बिहान १० बजेदेखि रातको आठ बजेसम्म र खुद्रा विक्रेताले बेलुका साढे ५ बजेदेखि साढे आठ बजेसम्म मात्रै मदिरा विक्री वितरण गर्न पाउने नियम लागू गरिएको प्रवक्ता चौधरीले जानकारी दिए।
त्यसैगरी, सार्वजनिक स्थलको दुई सय मिटर आसपास कुनै पनि प्रकारको मदिरा विक्री वितरण र सेवन गर्न नपाउने नियम लागू गरिएको छ ।
त्यस्तै, मदिरा सेवन गरी सरकारी कार्यालय, सार्वजनिक स्थल, सभा र समारोह तथा बैठकहरूमा प्रवेश गर्न नपाउने नियम पनि लागू गरिएको छ।
जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय लुङबहानेले ५० लिटर, ईप्रका विजुवारले १० लिटर र ईप्रका ओखरकोटले १०७ लिटर घरेलु मदिरा नियन्त्रणपछि नष्ट गरेको जानकारी दिएका छन्।
अवैध मदिरा नियन्त्रण र रोकथाम अभियानलाई निरन्तर रूपमा अगाडि बढाउने उनले प्रतिवद्धता जाहेर गरे।
‘समाजका घटेका घटनाहरूको विश्लेषण गर्दा अधिकांश घटना मदिरा सवेनसँग सम्बन्धित रहेको पाइएको हुँदा राति साढे आठ बजेपछि मदिरा सेवन , बेचबिखनमा रोक लगाइएको हो’, चौधरीले भने।