खोलाले बगाउँदा सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका वडा नं. ६ दार्मा निवासी दुर्गा केसीको ६ बर्षीया छोरी रेखा केसी र २ बर्षीय छोरा मोहन केसीको दार्मा खोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीका अनुसार शनिवार बेलुका सातबजेतिर आमा पूर्णिमा केसीसंगै खोला तर्दै गर्दा उनीहरुलाई दार्मा खोलाले बगाएको थियो ।
माइती घर रुकुम वाट तीज मानेर दार्मास्थित घर फर्किदै गरेका तीन आमा छोरा छोरीलाई खोलाले बगाएको भएपनि आमा भने बाँच्न सफल भएको प्रहरीले जानकारी दिएको छ । ‘खोला तर्ने क्रममा तीन आमा छोरालाई खोलाले बगाउँदा आमा बाँच्न सफल भएपनि उनका दुई सञ्तानको मृत्यु हुन पुगेको रहेछ ।’
डिएसपी शाहीले सेतोपाटीलाई भने । सातबजेतिर खोलाले बगाएको भएपनि शनिवार आठ बजेतिर मात्रै प्रहरीले खवर गरेको र खोज्ने क्रममा शनिवार राति अवेर २ बर्षीय मोहनको शव मात्रै फेला परेको प्रहरीले जानकारी दिएको छ । ६बर्षीया रेखाको शव भने आइतवार विहान ६ बजेतिर मात्रै बगेको स्थानदेखि केही दक्षिण फेला परेको प्रहरीले जानकारी दिएको छ ।