राज खच्चडवालाले टाँगा चलाउन थालेको दुई वर्ष भयो। यो उनको पुर्ख्यौली काम हो। उनका हजुरबा र बा पनि नेपालगञ्जका सडकमा टाँगा चलाउँथे।
बाउबाजेले झैं टाँगा चलाएर जिन्दगी गुजार्न सकिएला भन्नेमा भने राजलाई शंका छ। किनकी पछिल्लो समय नेपालगञ्जका सडकमा खच्चडका टापभन्दा धेरै अटोरिक्साका पांग्रा गुड्न थालेका छन्।
यात्रुहरू पनि अग्लो टाँगा छोडेर बस्न सजिलो, छिटो पुगिने, झ्याप्प ब्रेक लाग्ने अटोरिक्सामा झ्यामिन्छन्।
‘बासँग हिँड्दा दिनमै चार/पाँच हजार कमाएको देख्थें, अहिले चार/पाँच सय कमाउन पनि मुस्किल छ,’ राजले भने, ‘मान्छे सबै अटो रिक्साले बोक्छन्, समान ट्रक र ट्याक्टरले। काम पाइनै छोड्यो।’
पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्जको एउटा पहिचान टाँगा पनि थियो। २०१७ सालमा नगरपालिका बनेको यो सहरमा त्यसभन्दा पहिले नै टाँगाले मान्छे र सामान ओसार्थे। राजा महेन्द्र पनि नेपालगञ्ज आउँदा टाँगा चढेका थिए।
अझैं पनि जिद्दी वा ढिपी गर्ने केटाकेटीलाई सम्झाउनु पर्दा ‘कस्तो,नेपालगञ्ज-रुपैडिहाको टाँगाजस्तो एक ढउरे बनेको,’ भन्ने चलन छ।
केही वर्षअघि नेपालगञ्जको दैनिकीको अभिन्न अंग रहेको टाँगा अचेल घन्टौं कुर्दा पनि फाट्टफुट्टमात्र देखिन्छन्।
रुपैडिया नाकाबाट अटो पारी जान पाउँदैनन्। टाँगालाई रोकटोक छैन। तर टाँगाले अटोरिक्सासँग प्रतिष्पर्धा गर्न सकेका छैनन्।
टाँगा चढेर आएका यात्रु नेपालको सीमा प्रवेश गर्नसाथ झेरेर अटोमा चढ्छन्। टाँगा त्यहीबाट भारत फर्कन्छन्।
टाँगा बेचेर अटो रिक्सा
फूलटेक्राका साहेदा सिद्दिकीले केही वर्ष अघिसम्म टाँगा चलाउएर घरखर्चमात्र चलाउँथेनन् बचत पनि गर्थे। अचेल टाँगा चलाएर हातमुख जोड्न नै धौधौ भइरहेको उनले बताए।
वर्षौंदेखि टाँगा चलाउँदै आएकालेसमेत सजिलोका लागि धमाधम अटोरिक्सा किनिरहेकाले परिवारले टाँगा बेच्न र अटो किन्न दबाब दिएको सिद्दिकीले बताए।
‘बाटोमा पनि हामीलाई तेरो घोडा, खच्चड र राँगोले दिसा गर्यो छिटो हटा भन्दै छि–छि गर्छन्,’ सिद्धिकिले भने।
केही वर्ष पहिले नेपालगञ्ज क्षेत्रमा सयौं टाँगा व्यवसायी रहे पनि दर्जनमा आइपुगेका छन्।
‘काम नपाए पछि कतिले टाँगा त्यसै छोडिसके। उनीहरुले अटोरिक्सा किने सके,’ अर्का टाँगा चालक असिम यादवले भने, ‘नयाँ पुस्ताले घोडा खच्चड र राँगालाई घाँस पनि काट्दैनन्। स्याहारसम्भार पनि गर्न जाँगर देखाउँदैनन्।’
नेपालगञ्ज उपमहारनगरपालिकाका प्रमुखधवलसमशेर राणाले टाँगा विस्थापित हुनु समयको माग भएको बताए।
‘अटोरिक्सामा कम्तिमा ब्रेक त छ, तर टाँगामा ब्रेकसमेत छैन। नेपालगञ्जजस्तो व्यस्त सहरमा त्यसको अस्तित्व कसरी जोगिन सक्छ,’ राणाले भने।
टाँगा चालकले गर्ने ठगीबाट मुक्ति भएको भन्दै स्थानीयवासी भने अटो रिक्सासँग खुसी छन्।
चारबाहिनी चोकमा होटल चलाउने खगेन्द्रसिंह राणाले टाँगा चढ्दा एक सय रूपैयाँ भने पनि झर्दा त्यो भारू एक सय भनेर ठग्ने गरेको बताए।
‘रुकुम र रोल्पाका मानिसलाई ‘हटारु’ आए अब जतिसक्यो ठग्नुपर्छ भन्थे। रुपैडिया पुर्याउनै मनलाग्दी पैसा लिन्थे। अटो रिक्सा आएपछि त्यो रोकिएको छ,’ उनले भने।