दुई हप्ताअघि अष्टमी पर्व धुमधामले मनाएको थारु समुदायमा आइतबार अटवारी पर्व उल्लासपूर्वक मनाइएको छ।
कृष्ण जन्माअष्टमी पछिका दुई आइतबार अर्थात् कुशे औंशीपछि पर्ने अटवारी पर्व थारु समुदायले प्राचिनकालदेखि मनाउँदै आएको छ।
थारु समुदायले ‘माघी’ पछि दोस्रो ठूलो पर्वको रूपमा अटवारीलाई मनाउने गर्दछन्। थारु बहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत लगायतका क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले दुई दिन अटवारी पर्व हर्षोल्लासपूर्वक मनाउने गर्छन् ।
अस्टिम्कीमा महिलाहरूमात्रै व्रत बस्छन् भने अटवारीमा भने पुरुषमात्रै व्रत बस्ने प्रचलन छ।
अटवारी पर्व दाङका थारु राजा दंगीशरण र पाँच पाण्डवमध्ये शक्तिका प्रतीक भीमसँग सम्बन्धित रहेको किम्बदन्ती छ।
किम्बदन्ती अनुसार पाँच पाण्डव र दाङका थारु राजा दंगिशरणको बीचमा घनिष्ट सम्बन्ध रहेको थियो। एकदिन पाँच पाण्डव र द्रौपदीसहित सबैजना सुर्खेतको काँक्रेबिहारमा घुम्न गएका रहेछन्। त्यही क्रममा राजा दंगिशरणको राज्य (तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा) मा शत्रुहरूले आक्रमण गरिरहेको खबर भीमले पाएछन्। त्यो खबर पाउने बित्तिकै तावामा पकाउन राखेको रोटी समेत छोडेर भीम भोको पेटमै पानी समेत नखाइ राजा दंगिशरणको पक्षमा लड्न गए। भीमको सहयोगले दंगिशरणले शत्रुहरूलाई परास्त गरेको भन्ने किम्बदन्तीमा उल्लेख छ । दंगिशरण गाउँपालिका निवासी थारु संस्कृतविद् अशोक थारुले त्यही जितको खुसियालीमा थारु समुदायमा विजय उत्सव मनाउन सुरू भएको जानकारी दिए ।
अटवारीको पहिलो दिन
अटवारीको अघिल्लो रात अर्थात् शनिबारको दिन दर खाने चलन छ। त्यसपछि आइतवारको दिन व्रत बसेकाहरूले बेलुकी पख नजिकै जलासयमा गएर स्नान गर्ने गर्छन्।
स्नानपछि बैठक कोठामा गाईको गोबरले लिपपोत गर्छन्। त्यसपछि व्रत बसेका पुरुषहरूले गन्यारी जातको काठमा काठ रगडेर आगो बालेपछि त्यसैले खाना पकाउने चलन छ। त्यो आगोले सुरूमा अलि ठूलो आकारको भ्याँवा रोटी एकातर्फ मात्रै पकाउने चलन छ।
महाभारतका एक साहसिक पात्र भीम दंगिशरण राजाको दरबारमा शत्रुले आक्रमण गरेको खबर पाए लगत्तै भर्खरै रोटी पकाउँदै गर्दा सहयोगका लागि दौडिएर पुगेको किम्बदन्ती अनुसार त्यसैको प्रतीकको रूपमा पहिलो रोटी भ्याँवा एकतर्फी रूपमा पकाउने प्रचलन रहेको प्रदेशसभासद डिल्लीबहादुर चौधरीले बताए।
यो रोटी पकाइसकेपछि मात्रै अन्य विभिन्न प्रकारका रोटी पकाउन गरिन्छ।
खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफ्नो खानाबाट अग्रासन वा केही भाग छुट्याउँछन्।
अटवारीको दोस्रो दिन
अटवारीको दोस्रो दिन व्रत बसेकाले बिहान सबेरै उठेर नजिकै खोलामा गएर नुहाउँछन्। स्नानपछि बैठक कोठामा पुनः लिपपोत गर्छन्।
३ वा ७ थरिको तरकारी र भात पकाएपछि अट्वारीको पहिलो दिन झैं सबै पकाएको खानाबाट आधा भाग निकाल्ने गर्छन् । जसलाई थारुभाषामा ‘कहार्ने’ भन्ने गर्छन्।
भीमको नाममा सबै तरकारी र खानाबाट एक/एक गाँस निकालेर आगोमा पूजा गरिन्छ। पूजा सकिएपछि मात्रै घरको मुल सदस्यले सबैलाई खाना दिने गर्छन्।
अटवारी एक परम्परात पर्व भएता पनि यसका केही नकारात्मक पक्षहरू छन्।
चेलिबेटीलाई लगिदिने कोसेली (अग्रासन) बासी भइसकेको हुन्छ। बासी खानेकुराले स्वास्थ्यमा समस्या निम्त्याउने खतरा रहन्छ।
त्यस्तै, चेलीबेटीले ‘अग्रासन’ छोड्न गएका दाजु/भाइलाई बढी मात्रामा जाँड रक्सी खान दिने प्रचलन विद्यमान छ । त्यसैले उनीहरु घर फर्किदै गर्दा दुर्घटनामा परेको तथा गाउँ घरमा बाटो मै सुतेको अवस्थामा भेटिन्छन्। यी नकारात्मक पक्षहरू सुधार्न आवश्यक रहेको नेपाली कांग्रेसका नेता समेत रहेका प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीको धारणा छ ।