राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्राप्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले भदौ ३१ गते राप्ती उपक्षेत्रीय अस्पतालको नाममा पत्र पठाउँदै उक्त अस्पताल अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा गइसकेको उल्लेख गरेसँगै प्रतिष्ठानले अस्पतालको स्वामित्व पाएको हो।
यसअघि राजनीतिक उल्झनका कारण राप्ती उपक्षेत्रीय अस्पताल घोराही र प्रतिष्ठानका बीचमा यही विषय लिएर विवाद रहिआएको थियो।
यो पत्रसँगै लामो समयदेखि अस्पताल विकास समिति र प्रतिष्ठानका बीचमा चल्दै आएको विवादको निरुपण भएको नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले बताए ।
‘स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुनुहुन्न भन्ने हाम्रो मान्यता रहँदै आएको थियो। तर, अहिलेको सरकारले कांग्रेसको नियुक्ति भन्दै त्यो उल्टाउने गलत हर्कत गर्दा उल्झन भएको हो । अब भने त्यो समाप्त भयो,’ सचिव डाँगीले भने ।
नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भएको निर्णय उल्टाउँदै केपी ओली नेतृत्वको सरकारले प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीलाई हटाएको थियो। तर, पछि अदालतले डा. भण्डारीको पक्षमा फैसला गर्यो।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त पनि अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चलायमान हुने आशा गरेका छन्।
अस्पताल विकास समिति र प्रतिष्ठानका बीचमा स्वामित्व हस्तान्तरणको सवालमा लामो समय विवाद चलेपछि त्यो समाधान गर्नको लागि दाङ उद्योग वाणिज्य संघको पहलमा पन्तकै नेतृत्वमा एक सर्वदलीय सर्वपक्षीय टोली हालसालै राजधानी पुगेर सरोकारवालाहरूको ध्यानाकर्षण गराएको थियो ।
पत्र पाए स्वामित्व लिन दाङ आउँछु – उपकुलपति डा. भण्डारी
यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले अस्पतालको स्वामित्व प्रतिष्ठानलाई दिने सरकारी निर्णय स्वागत योग्य भएको बताएकी छन् ।
आफूले मिडियाबाट सो विषयमा थाहा भए पनि व्यक्तिगत रूपमा पत्र प्राप्त भने नभएको उनले जानकारी दिइन्।
‘मेरो हातमा पत्र प्राप्त हुनासाथ म दाङ आउँछु र स्वामित्व ग्रहण गर्छु,’ भण्डारीले भनिन्।
राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा. जर्नादन पन्थीले पनि अब आफूहरूलाई अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्न सहज भएको बताए। यसअघि अस्पतालको चल/अचल सम्पत्ति हस्तान्तरण गर्न उनले नमान्दा उपकुलपतिसँग उनको सार्वजनिक रूपमै विवाद हुँदै आएको थियो ।