मंगलबार हल्लै हल्लाको बन्दले दाङको जनजीवन प्रभावित भएको छ।बिहानैदेखि यहाँका प्रमुख बजारहरु खुलेका छैनन् भने यातायात, कलकारखाना र शैक्षिक संस्था समेत ठप्प छन्।
माओवादी पूर्व जनमुक्ति पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङले भदौ ३१ गते एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नेपाल बन्दको आह्वान गरेका थिए।
जसमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पटक/पटक गरिँदै आएको पक्राउको विरोधमा बन्द आह्वान गर्ने भन्ने उल्लेख छ।
तर, विप्लव नेतृत्वको नेकपाका नेताहरूले भने पूर्व जनमुक्ति पार्टीको बन्दसँग आफूहरूको कुनै सरोकार नरहेको जानकारी दिएका छन्। ‘यो बन्दसँग हामीलाई जोड्ने काम नहोस्, यसमा हाम्रो कुनै किसिमका संलग्नता छैन,’ एकजना नेताले सेतोपाटीलाई भने।
बन्दका कारण मंगलबार बिहानैदेखि दाङमा यातायातका साधन सञ्चालनमा आउन सकेको छैन। राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले कुनै पनि गाडी नछोडिएको जानकारी दिए।
‘हल्लै हल्लाको बन्द हो तपाईं गाडी लगेर जानुस् भन्दा पनि साहुहरूले मान्नु भएन,’ पुरीले भने।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले एउटा विज्ञप्तिको भरमा बन्द हुनुले समाजको मनोवृति उदांगो भएको बताए।
‘बन्दकर्ता कतै पनि छैनन्, त्यो विज्ञप्ति मेलेसियाबाट आएको हो कि कहाँबाट आएको हो? त्यो आधिकारिक हो कि हैन?, त्यो नबुझी हल्लाको पछाडि लाग्नु गलत हो,’ पन्तले भने।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी कृष्णहरी शर्मा पनि हल्लाको हावाको भरमा जिल्ला बन्द हुनु दुर्भाग्य भएको बताए। ‘यो बन्दको संस्कृति विभिन्न राजनीतिक दलका नेताहरुले सिकाएको संस्कृति हो,’– एसपी शर्माले भने ‘हामीले केही गर्न खोज्यो भने हस्तक्षेप गर्न खोज्नुको परिणाम हो।’