नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी (प्रयास)लाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टीका राप्ती व्यूरो इञ्चार्ज सुवाषले एक विज्ञप्तिमार्फत् रोल्पा नगरपालिका वडा नं. १० भनभनेबाट सुवेदी सोमबार पक्राउ परेका जानकारी दिए।
पार्टीको संगठन सुदृढ तथा विस्तार अभियान देशभरि चलिरहेको बेला सोमबार शान्तिपूर्ण रूपमा जनसभा भइरहेको स्थानबाट प्रहरीले विनाकारण सुवेदीलाई गिरफ्तार गरेको सुवाषले दाबी गरेका छन्।
‘प्रहरी प्रशासनबाट अपहरण शैलीमा गरिएको गिरफ्तारीको कडा शब्दमा निन्दा एवं भत्सर्ना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यसैबीच विनाकारण पक्राउ गरिएका रोल्पा सेक्रेटरी सुवेदीलाई अविलम्ब विनासर्त रिहा गर्न माग समेत गरिएको छ। साथै, विनाकारण गिरफ्तार गरिएकाहरूलाई विनासर्त रिहा नगरे पार्टी चरणबद्ध संघर्षमा जान बाध्य हुने पनि चेतावनी दिइएको छ।