गलत तरिकाले सर्वसाधारणलाई झुक्याउँदै लाखौं रुपैंया ठगी गरेको अभियोगमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमोको माध्यमवाट प्रभावमा पारी चिठ्ठा परेको बाहाना देखाएर लाखौं ठगी गर्ने नवलपरासीका दुई युवालाई दाङ प्रहरीले पक्राउ गरि कानुनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ४ निवासी ३१ बर्षीय पुरणबहादुर खवास र सोही ठाउँका बुढेस विनलाई पक्राउ गरेर दाङमा ल्याइ कानुनी उपचार थालिएको जिल्ला प्रहरी प्रमुख कृष्णहरी शर्माले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।
‘पक्राउ परेकाहरुले इमो मार्फत तपाँईलाई पश्चिस लाख चिठ्ठा परेको छ भनि सम्वन्धित व्यक्तिलाई जानकारी गराउने र उक्त कुराको बारेमा नक्कली बैंक म्यानेजर बनेर पुष्टि गराउने अनि त्यो पैंशा निकाल्न एक लाख २५ हजार कर लाग्छ भन्दै ठगी गर्दा रहेछन्’, एसपी शर्माले भने ।
पिडितले दिएको फोन नम्वर र जाहेरीका आधारमा दाङबाट गएको प्रहरीले टोलीले उनीहरुलाई नवलपरासी बाट बुधवार नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।
उनीहरुको साथवाट केही थान मोवाईल समेत बरामद गरिएको जानकारी दिइएको छ ।