तुलसीपुर उपमहानगरपालिका-६ रजौराकी पवित्रा वली र उनकी छोरी बुधबार रात्रीबस चढेर काठमाडौं जाँदै थिए। ना ६ ख ५०३९ नम्बरको बस कपिलबस्तुको शिवपुर जंगल क्षेत्रमा पुग्दा रात दश बजिसकेको थियो। धेरै यात्रु निदाउन थालेका थिए।
एक्कासी बसमा ठूलो आवाज आयो। सिसा फुटे। यात्रुहरु एकाएक कराउन थाले।
‘ढुङ्गाले हानेको हो कि गोली, बम हानेको खुट्याउन मुस्किल भयो,’ पवित्राले भनिन्।
पवित्राले सोचिछन्-त्यसैले कसैले लुटपाट गर्न खोजेको हो कि वा कुनै अपराधिक समूहले बम हानेरै सिध्याउन पो खोजेको हो कि।
सिसा लागेर ४३ वर्षीय चालक अर्जुन धमलाको दाहिने हातबाट रगत आयो। बसका सिसा फुटेपनि उनले गाडी रोकेनन्। बरू अझ रफ्तारमा कुदाए।
तीन किलोमिटर चन्द्रौटामा प्रहरीको चौकी आयो। गाडी रोकियो। पवित्राले थाहा पाइन्- गाडीमा ढुंगा हान्नेहरू बसका चालक नै रहेछन्।
धमलाले दाङ–काठमाडौं बस चलाउन थालेको १२ वर्ष भयो। यो अवधिमा उनले थुपै बन्द र हड्तालको सामना गरे। तर यसपालि आक्रमण गर्नेहरू उनकै साथी थिए। धमलालाई चालकको हड्तालबारे पत्तो रहेनछ।
‘रोकेर सम्झाएको भए म त्यही गाडी पार्किङ गरेर हिँड्थे नि, आतंककारी जसरी गुडिरहेको गाडीमा हान्नु गलत हो,’ धमलाले भने।
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले भदौ १ गतेदेखि जारी नयाँ कानुनमा चालकलाई जेल सजाय र धरौटी रकम बढाएको विरोधमा चालक आन्दोलनमा उत्रिएका छन्। त्यही आन्दोलनमा समर्थन नगरी गाडी चलाएको भन्दै राप्ती समितिका मात्रै आधा दर्जन बसमाथि तोडफोड भइसकेको छ।
पछिल्लो समय आन्दोलन अराजक र उग्र बन्दै गएको प्रति ना ६ ख ५४१ नम्वरको बसका चालक केशव भण्डारीले चिन्ता व्यक्त गरे।
‘एउटा मजदुरले अर्को मजदुरलाई जुत्ताको माला लगाउने, मजाग गर्दै फूलमाला र अभिर लगाउने, हात काट्दिन्छौं भन्ने, तलाई खान नपुगेको हो भन्दै एकमाना चामल दिनेजस्ता कुरा खेदजनक कार्य हो,’ भण्डारीले भने।
सहकर्मीबाट त्रास भएपछि चालकहरुले गाडी चलाउन मानिरहेका छैनन्। अर्कोतर्फ प्रहरी प्रशासनले पनि अनावश्यक रुपमा चालकलाई दुःख दिने गरेको राप्ती अञ्चल सार्वजनिक यायातायात समिति मजदुर संगठनका अध्यक्षसमेत रहेका भण्डारीले गुनासो गरे।
उनले शुक्रबार बिहानभर पक्राउ गरिएका पाँच जना चालकलाई छुटाउनका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा गए पनि प्रहरीले छोड्न नमाएको बताए। गाडी चलाएन भन्दै एकातिर प्रहरीले चालकलाई पक्राउ गर्ने र अर्कोतर्फ गाडी किन चलाएको भन्दै हात काटिदिने धम्कीले मजदुरलाई हैरानी भएको भण्डारीले बताए ।
यसैबीच दाङमा प्रहरीले थप एकजना चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माका अनुसार बिहीबार तुलसीपुरमा २ र लमहीमा ३ जना चालक पक्राउ परेका थिए।
गाडी चलाउने कागज गराएर छोडेको एसपी शर्माले बताए।
लगातारको बन्दले इन्धनको समस्या भएको छ। अधिकांश पेट्रोल पम्पमा तेल छैन भन्ने सूचना टाँगिएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने गाडी नचलेको भन्ने कुरा गलत भएको दाबी गरे। ‘मैले ट्राफिकलाई बुझिरहेको छु, गाडी चलेकै छन् त,’ प्रजिअ श्रेष्ठले भने।
उनले अवरोध गर्न खोज्नेलाई पक्राउ गर्न आदेश दिएको बताए।
‘गाडी नचलाउने सबैका लाइसेन्स खोजेर ल्याउन निर्देशन दिइसेको छु । म त्यस्ता सबै चालकको लाइसेन्स सिज गरिदिन्छु,’ प्रजिअ श्रेष्ठले भने।