बोक्सी भन्दै जंगलमा लगेर सासुको हत्या गरेको अभियोगमा बुहारीसहित दुईजना महिलालाई पूर्पक्षका लागि थुनामा राखिएको छ ।
जिल्ला अदालत सल्यानले शुक्रवार अपरान्ह दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँ निवासी बुहारी ४४ वर्षीया टंकी रावत र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४० बर्षीया पवित्रा गिरीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
उनीहरुले बोक्सी भन्दै दाङ बाट सल्यानको जंगलमा पुर्याएर ६९ वर्षीया खोपी रावतको हत्या गरेका थिए।
प्रहरीका अनुसार खोपीकी बुहारी टंकी रावत पटक-पटक विरामी भइ रहने हुँदा धामी-झाँक्रीलाई हेराउदा ‘तेरै घरभित्र र तेरै कुलको बोक्सी लागेर तलाई यसरी सताएका छन्’ भनेको र त्यही भ्रम र अन्धविश्वासमा परेर योजना बनाई उनले सासू खोपीको जंगलमा लगेर हत्या गरेको खुल्न आएको यसअघि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले पत्रकार सम्मलेनमा जानकारी दिए ।
धामी झाँक्रीको गलत कुराको विश्वासमा परेर सासू नै बोक्सी भएको र उनी बाँचुञ्जेल आफूलाई कहिलै सञ्चो नहुने भ्रमले गर्दा बुहारीले सासूको निर्ममतापूर्वक जंगलमा लगेर हत्या गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गत भदौ ५ गते नै बुहारी टंकी रावतले पवित्रा गिरी समेतको सहयोगमा सल्यानको कपुरकोट गाउँपालिका वडा नं. २ स्थित शिवमन्दिर सामुदायिक वनमा ६९ वर्षीया खोपी रावतको निर्मतापूर्वक हत्या गरेर शव जंगलमै छोडि भागेका थिए ।
घाँस काट्न गएका स्थानीय महिलाले जंगलमा स्याउलाले ढाकछोप गरेको अवस्थामा भदौ १५ गते महिलाको शव फेला परेपछि प्रहरीलाई खवर गरेका थिए ।
सासुको हत्या गरेको आरोप खेपेकी टंकीलाई भदौ १६ गते प्रहरीले लुकिछिपी बसेको अवस्थामा कपिलवस्तु जिल्लाको कृष्णनगर नाका क्षेत्रबाट पक्राउ गरेको थियो ।
घटनाको ११ दिनपछि पक्राउ परेकी टंकीलाई अनुसन्धान गर्दा सो घटनामा पबित्रा गिरी नाम गरेकी अर्की एक महिला पनि दोषी देखिए पछि प्रहरीले गिरीलाई समेत पक्राउ गर्यो।
प्रहरीका अनुसार भदौ ३ गते बुहारी टंकी र उनकी सहयोगी गिरीले हत्या गरिएकी ६९ बर्षीया रावतलाई सल्यानको कपुरकोटमा निकै जान्ने धामी झाँक्री छन भन्दै लगेका थिए ।
त्यहाँको झाँक्रीले पनि पहिलेका धामी झाँक्रीले झैं कुल घरानकै बोक्सीले सताएको भन्ने कुरा गरेपछि त्यसैको विश्वासमा परेर ५ गते जंगलको छोटो बाटो घर जाने भन्दै जंगलमा पुर्याएर वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले साथमै लगेको हंसियाले लठ्ठी काटेर सुरुमा पछाडि बाट लाठीले हानेर बेहोस बनाइ, त्यसपछि त्यही हँसियाले शरिरका विभिन्न भागमा चिर्दै निर्ममता पूर्वक हत्या गरेको प्रहरीले बताएको छ।
‘ निर्ममता पूर्वक हत्या पछि उनीहरुले साथमै लगेको मट्टीतेल हालेर शव जलाउन खोजेको देखिन्छ, तर पानी परेपछि र मौसमले साथ नदिएपछि शवलाई स्याउलाले लुकाएर हिडेको उनीहरुले वयानमा उल्लेख गरेका छन्’, प्रहरी निरीक्षक भानु शर्माले भने ।
घटना सल्यानमा भएको हुँदा त्यसपछि आवश्यक कारवाहीको लागि दाङबाट उनीहरुलाई सल्यान लगिएको थियो ।